काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी आज खुला नहुने भएको छ । नेपाली सेनाले थुनिएको नदीलाई ब्लाष्टिङ गरेर खुला गर्ने तयारी गरेको थियो ।
थुनिएको बाँधलाई खुला गर्ने कम्प्रेसन मेसिन नदी थुनिएको ठाउँमा पुर्याउन नसकिएकाले आज खुला नहुने जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बाटो अप्ठयारो भएकाले समयमा मेसिन पुर्याउन नसकिएको उनको भनाइ छ ।
मेसिन पुगे पनि ब्लाष्टिङको काम उज्यालोमा गर्नुपर्ने भएकाले थुनिएको नदी आज खोल्न सम्भव नभएको उनले बताए ।
ब्लाष्ट गर्दा सबै पानी बग्ने गरी नखोलिने पौडेल बताउँछन् ।
द्धसानो पानी बग्ने गरेर ब्लाष्ट गरिन्छ । ब्लाष्ट गर्दा वरिपरि सूचना जारी गरेर मात्र खुला गरिन्छ । नदी किनारामा थप असर नगर्ने गरेर काम गरिन्छ । थुनिएको नदीबाट पानी बग्दा अब क्षति हुँदैन,’ उनले भने ।
उनका अनुसार भोलि सेनाको टोलीले थुनिएको नदी खुला गर्नेछ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले ब्लास्ट गरेर थुनिएको नदी खुला गर्ने उनले जानकारी दिए ।