काठमाडौं । असोज ६ गतेदेखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण देशका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट नेपाल विद्युत प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा करिब ७ अर्ब ४० करोड रुपैयाँको क्षति पुगेको अनुमान गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बाढीबाट विद्युत संरचनामा पुगेको क्षति तथा विद्युत आपूर्तिको अवस्थाबारे जानकारी दिएको हो ।
बाढी तथा क्षतिका कारण आकस्मिक रूपमा बन्द गरिएका केही जलविद्युत केन्द्र सञ्चालनमा आइसकेका छन् भने केही अवरुद्ध केन्द्र सञ्चालनमा ल्याउन अझै समय लाग्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सहायक कम्पनीमार्फत प्रवद्र्धित राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा समेत पानी पसेकाले सरसफाइ गरी आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ ।
कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण कुल १९० मेगावाट क्षमताका ७ वटा जलविद्युत केन्द्रबाट विद्युत प्रसारण हुन सकेको छैन ।
राहुघाट सबस्टेसनमा कनेक्सन भएका अवरुद्ध आयोजनामध्ये ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत केन्द्रबाहेक १२७ मेगावाट उत्पादन क्षमता पुनः सञ्चालनमा ल्याउन सकिने अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ ।
हाल प्रणालीबाट बाहिर रहेका कुल ८ वटा विद्युत आयोजनाको क्षमता २३० मेगावाट छ । यता सेती–मादी करिडोरका २६२ मेगावाट र मस्र्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत केन्द्र भने पुनः सञ्चालनमा आइसकेका छन् ।
अवरुद्ध १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत केन्द्र पनि सोमबार बेलुकासम्म सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाटो अवरुद्ध रहेकाले उक्त क्षेत्रलगायत अन्य स्थानको स्थलगत निरीक्षण गर्न बाँकी रहेकाले क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
वितरण प्रणालीतर्फ पनि बाढीका कारण म्याग्दी, बागलुङ, तनहुँको शापुटार सबस्टेसन, रुकुम पूर्व, मनाङ, मुस्ताङ र प्युठानमा विद्युत सेवा प्रभावित भएको थियो । तीमध्ये म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत सेवा पुनः सुचारु भइसकेको छ ।
मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अपराह्नसम्म तथा मनाङमा मंगलबारसम्म विद्युत सेवा सञ्चालन गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
यसैबीच, आगामी सुक्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत उपलब्ध हुने अनुमान गरिएको छ ।
माग र आपूर्तिबीच सन्तुलन कायम गर्न ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न विन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट गरी कुल १ हजार १५४ मेगावाट विद्युत आयात गर्ने योजना प्राधिकरणको छ ।
आन्तरिक उत्पादन र आयातसहित सुक्खायाममा कुल २ हजार ३७२ मेगावाट विद्युत उपलब्ध हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम स्तर २ हजार २९२ मेगावाट पुगेको थियो ।
यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३ बीको २२० केभी हबमा क्षति पुर्याउनुका साथै विभिन्न जलविद्युत केन्द्रमा असर गरेको थियो । जसकारण हाल कुल ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ ।