बाढीले १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध

काठमाडौं । अविरल वर्षा र बाढीले विद्युत प्रसारण तथा उत्पादन प्रणालीमा ठूलो असर पारेको छ । बाढीले विभिन्न प्रसारण लाइनमा क्षति पुग्दा त्यसबाट विद्युत् प्रवाह हुने उत्पादन केन्द्रहरू प्रभावित भएका हुन् ।

ऊर्जा मन्त्रालयका अनुसार असोज ८ गतेदेखि सुरु भएको न्यूनचापीय मनसुनका कारण आएको बाढी र नदीमा बढेको अत्यधिक बहावले गण्डकी प्रदेशका विभिन्न स्थानमा रहेका जलविद्युत् आयोजनासमेत बन्द भएका छन् ।

यसले विद्युत् आपूर्तिमा समेत केही असहज अवस्था सिर्जना भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्राप्त विवरणअनुसार बाढीका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइनमार्फत विद्युत् प्रवाह हुने १३ वटा उत्पादन केन्द्रको करिब ३७० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

त्यस्तै, म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँ जिल्लामा रहेका थप १४ वटा उत्पादन केन्द्र पनि नदीमा आएको अत्यधिक बहावका कारण बन्द भएका छन् । ती केन्द्रबाट करिब ६३० मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

बाढीका कारण मात्रै हालसम्म विद्युत् प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उत्पादनमा आएको कमीका कारण विद्युत् प्रणालीमा सन्तुलन कायम गर्न केही उद्योगको विद्युत् खपत घटाएर व्यवस्थापन गरिएको छ ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा जलविद्युत् कम्पनीबाट प्रवर्द्धित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् केन्द्रको स्वीचयार्डमा समेत कालीगण्डकी नदीले कटान गरी क्षति पुर्याएको छ ।

बाढी तथा पहिरोका कारण अन्य स्थानमा पुगेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर जलाशयको पानीको सतह आइतबार दिउँसो १ बजेसम्म १ हजार ५२६ दशमलव ४२ मिटर पुगेको छ ।

जलाशयको पानीको सतह सुरक्षित तहमा कायम राख्न कुलेखानी जलविद्युत् उत्पादन केन्द्रलाई २४ घण्टा पूर्ण क्षमतामा सञ्चालनमा राखिएको मन्त्रालयले जनाएको छ ।

जलाशयको पानीको सतह थप बढ्न गएको अवस्थामा अपनाउनुपर्ने सम्पूर्ण सुरक्षात्मक उपाय अवलम्बन गर्न आवश्यक संयन्त्रलाई तयारी अवस्थामा राखिएको पनि ऊर्जा मन्त्रालयले जनाएको छ ।

Share News