कालीगण्डकी करिडोरका ४६ ठाउँमा पहिरो, पन्छाउने काम जारी

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा-बेनी-जोमसोम-कोरला सडकका विभिन्न ४६ स्थानमा पहिरो, डुबान र सडक कटान भई यातायात पूर्ण रूपमा प्रभावित भएको छ । 

सडक विभागका अनुसार मालढुंगालाई सुरु विन्दु मानी कायम गरिएको चेनेज अनुसार विभिन्न खण्डमा बाटो अवरुद्ध भएको हो । सडकका अधिकांश स्थानमा लेदोसहितको पहिरो खसेको छ ।

लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी (१, २ र ३ सिरुबारी), जलथले, सुकेबगर, दाना, लाटोखोला, लेतेखोला, पाण्डाखोला, एकलेभट्टी, कागबेनी, तिरीगाउँ वारी, ब्रीन ताङ्बे, ताङ्बे खोल्सा (पहिलो र दोस्रो), छुसाङ खोल्सा, स्याङ्बोचे, घमी, चराङ, छोसेर र नेचुङ भन्सार घुम्तीमा लेदोसहितको पहिरोका कारण आवागमन ठप्प छ ।

खोला तथा नदीको उच्च बहावले लामाखेत र बेगखोलामा सडक डुबानमा परेको छ भने भिरकाटे, तातोपानी कुण्ड, नाच्याङ, खान्भिस्ता, घ्याकर खोला, समर खोला र झोखोलामा सडक कटान भएको छ । चैलेमा भारी वर्षाले सडक काटेको छ भने पोखरेबगरमा पुल बगेको छ । यसैगरी, नौनीबगरमा ढुङ्गासहितको पहिरो र महभीरमा चट्टानसहितको पहिरो खसेको छ । 

रुप्से, काभ्रेभीर, खरेखोला, घासा र कैकुखोलामा ठूला ढुङ्गा खसेर बाटो बन्द छ भने मार्फामा कलभर्ट बन्द भई पानी सडकमाथि बगिरहेको छ । सडकमा पहिरो र कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि पछिल्लो अवस्था बुझ्न अनुरोध गरिएको छ । हाल उपलब्ध उपकरण र जनशक्ति परिचालन गरी अवरोध हटाउने कार्य भइरहेको छ ।

Share News