कालीगण्डकी र डुम्रे-चामे खण्डसहितका पूर्वाधार ध्वस्त, मन्त्री लम्सालले भने- 'यसै महिनाभित्र काम थाल्छौँ'

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले लगातारको वर्षाका कारण क्षति पुगेका क्षेत्रका जनप्रतिनिधिहरुसँग आइतबार छलफल गरेका छन् । बाढी र पहिरोका कारण देशभर जनजीवन प्रभावित भएपछि मन्त्री लम्सालले प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकाल सहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग नागरिकको पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका विषयमा छलफल गरेका हुन् । 

छलफलमा बाढीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य तत्काल अघि बढाउने विषयमा छलफल भएको छ । 

मन्त्री लम्सालले पछिल्लो तीन दिनको बाढी र वर्षाका कारण क्षति पुगेका पुल, सडक, झोलुङ्गे पुल, खानेपानीलगायतका आयोजनाको क्षति मूल्याङ्कन गरी तत्काल बजेट व्यवस्थापन गरेर टेन्डर प्रक्रियामार्फत पुनर्निर्माणको काम अघि बढाउने बताएका छन् । 

उनले यसै महिनाभित्र पुनर्निर्माणको काम सुरु गर्ने प्रतिबद्धता छलफलका क्रममा व्यक्त गरे । लगातारको वर्षा र बाढीका कारण कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा तथा तनहुँ नवलपरासीको देदगाउँस्थित पुलका एप्रोच सडक बगाएको छ । 

कालिगण्डकीको पक्की पुल बगाएको छ । कालीगण्डकी करिडोरका विभिन्न सडकखण्डका साथै डुम्रे बेँसीसहर चामे सडकखण्डमा ठूलो क्षति पुगेको छ । 

डुम्रे बेंसीसहर चामे सडक खण्ड अन्तर्गत रामबजार स्याङगे लमजुङमा मस्र्याङ्दी नदीको कटानका कारण करिब ४० मिटर सडक पूर्ण रुपमा भासिएको छ । नासो, खोत्रो मनाङमा ढुङ्गा सहितको पहिरोका कारण सडक अबरुद्ध छ । नासो, बगरछाप मनाङमा मस्र्याङ्दी नदीको कटानका कारण करिब ५० मिटर सडक पूर्ण रुपमा भासिएको छ । चामे, मनाङमा बाढीका कारण तीन अस्थायी काठे पुल बगेका छन् । 

बाढी र पहिरोका कारण काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडकहरूमा क्षति पुगेको छ । बाढी तथा पहिरोका कारण रुकुम पूर्वको नाथीगाड झोलुङ्गे पुल, बागलुङ-पर्वत जलजला फोर्से झोलुङ्गे पुलमा पूर्ण रुपमा क्षति पुगेको छ । 

तनहुँको घिरिङ करुवाटार-नवलपुरको बुलिङटार मचेडी जोड्ने झोलुङ्गे पुल, स्याङ्जाको गल्याङ बेल्चौर–पाल्पाको रम्भा नौगाउँ-साठी बजार जोड्ने झोलुङ्गे पुल, पाल्पाको कासिबन-तनहुँको अत्रौली जोड्ने झोलुङ्गे पुल, पर्वत-स्याङ्जा जोड्ने सेतीबेणी झोलुङ्गे पुल तथा म्याग्दीको बेनी-पर्वतको जलजला जोड्ने झोलुङ्गे पुलमा आंशिक  क्षति पुगेको छ । बाढी र पहिरोले ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

Share News