आफैलाई आगो लगाउने चालकको नागरिकता थिएन, अरूकै लाइसेन्स लिएर बस चलाउँथे

काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र आफैलाई आगो लगाएका चालक अर्जुन दोङको नागरिकता नभएको खुलेको छ । 

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलिप घिमिरेले आत्मदाह गरेर मृत्यु भएका चालकको नागरिकता नभएको जानकारी दिए ।

‘अहिलेसम्म उनको आफ्नो नागरिकता छैन । अरूको नागरिकता, अरूको डकुमेन्टहरू प्रयोग गरेर हिँडिरहेका थिए । कहिले कसको लाइसेन्स वा परिचयमा, कहिले सुनिल तामाङको परिचयमा हिँडिरहेका थिए,’ उनले भने । 

घिमिरेले चालक दोङले फरक–फरक व्यक्तिको लाइसेन्स बोकेर हिँड्ने गरेको बताए । 

उनका अनुसार दोङले अन्य व्यक्तिको नामबाट बैंक खाताहरूसमेत खोलेका छन् ।

‘चालक दोङले फरक–फरक ठाउँमा आफ्नो फरक पहिचानसहित काम गरिरहेको पाइयो । उनको दुइटा श्रीमती रहेछन् । अनि गर्लफ्रेन्डहरू पनि रहेछन् । यो सबै कुराहरूबाट थाहा हुन्छ उनी कस्तो खालको ब्याकग्राउन्डका चालक हुन् भन्ने,’ एसएसपी प्रमुख घिमिरेले विकासन्युजसँग भने ।

लाइसेन्सबाहकले लाइसेन्स दिएको हो भने उनलाई कारबाही हुने घिमिरेले जानकारी दिए । ‘हराएर फेला पारेर चलाएको हो भने त्यसमा प्रहरीले सोच्न सक्छ,’ उनले भने ।

सोमबार त्रिपुरेश्वरको बस स्टपमा ऋद्धिसिद्ध बसमा आगजनी भएको थियो । 

मंगलबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा चालक दोङको  उपचारकै क्रममा मृत्यु भएको थियो ।

Share News