काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–६ मा मदिराको झोकमा श्रीमतीको हत्या भएको घटनालाई लिएर प्रतिनिधि सभामा चासो व्यक्त गरिएको छ ।
बुधबारको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले श्रीमानद्वारा श्रीमतीको हत्या र दुई छोरी गम्भीर घाइते भएको घटनाले आफूलाई मर्माहत बनाएको बताउँदै पीडित परिवारको न्याय र घाइतेको उपचारका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद विकले संसद्मा जानकारी गराएअनुसार सुर्खेतका गोपीराम जैसीले मदिरा सेवनका लागि पैसा नपाएको निहुँमा आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीको फरुवा प्रहार गरी हत्या गरेका हुन् । उक्त आक्रमणमा परी दम्पतीका दुई छोरीहरू गम्भीर घाइते भएका छन् भने एक छोरा भने ज्यान जोगाउन सफल भएका छन् ।
स्थानीय प्रहरीले समयमै उद्धार गरेका कारण बालिकाको ज्यान जोगिए पनि उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सांसद विकले महिलामाथि भइरहेको हिंसा र असुरक्षाका शृङ्खलाप्रति आक्रोश पोखिन् ।
उनले भनिन्, ‘कहिले अस्पतालमा पैसा तिर्न नसकेर सडकमा बच्चा जन्माउनुपर्ने त कहिले श्रीमान्को इच्छा पूरा गर्न नसक्दा जिउँदै जल्नुपर्ने अवस्था कहिलेसम्म ? महिलाहरूले यस्तो यातना भोग्नु परेको कहिलेसम्म हो ? बाटोमा लर्बरिएर हिँड्ने मातेका मानिसलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिनुपर्छ, समाजलाई असुरक्षित बनाउने यस्ता प्रवृत्ति रोक्न सरकारले सक्रियता देखाउनुपर्छ ।’
उनले गाउँघरमा सहजै उपलब्ध हुने घरेलु मदिरा र लागुऔषधको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिइन् । केवल ठूला ब्रान्डका मदिरामा मात्र केन्द्रित नभई गाउँबस्तीमा पाइने घरेलु जाँडरक्सीको निर्वाध बिक्री र सेवन नै अपराधको मुख्य कारण बनेको उनको तर्क छ ।
उनले घाइते दुई बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यको तर्फबाट उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन् । घटनाले सिङ्गो परिवार क्षतविक्षत भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही र पीडितलाई उचित न्याय दिलाउन सरकारलाई आग्रह गरिन् ।