फ्रान्सका राष्ट्रपतिले संयुक्त राष्ट्र महासभामा भने, ‘हामी सबै लज्जित हुनुपर्छ’

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले गाजापट्टीमा शान्ति कायम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीमाथि प्रश्न उठाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रलाई सम्बोधन गर्दै म्याक्रोंले शान्तिको घोषणा गरिए पनि गाजामा अहिलेसम्म कुनै मानवीय करिडोर पुनः नखोलिएको बताएका छन् ।

म्याक्रोंले गाजाको अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि पनि प्रश्न उठाए । उनले भने, ‘विश्वसामु यस्तो दृश्य छ, जसमा हामी सबै लज्जित हुनुपर्छ ।’

म्याक्रोंले ट्रम्पको गाजा शान्ति योजनालाई कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरिएकोप्रति पनि आलोचना गरे ।

म्याक्रोंले भने, ‘यदि हामी गाजाको विषयमा लगातार सन्तुष्ट भएर बसिरह्यौं भने हाम्रो विश्वसनीयता के रहन्छ ? केही मानिस कथित शान्तिको प्रशंसा गरिरहेका छन् । तर यो शान्तिले मानवीय उद्देश्यका लागि एक सेकेन्डका लागि पनि पहुँच सुनिश्चित गरेको छैन । के हामी चुपचाप उभिएर यस्तो दृश्य हेरिरहने हो, जसमा हामी सबै लज्जित हुनुपर्छ ?’

यसैबीच, म्याक्रोंले रुस र युक्रेनबीच जतिसक्दो चाँडो सार्थक वार्ता सुरु गराउन फ्रान्सले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

Share News