दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केअनहीको कैद सजाय ५ वर्षमा झर्‍यो

काठमाडौं । दक्षिण कोरियाको एक पुनरावेदन अदालतले पूर्व राष्ट्रपति युन सुक–योलकी पत्नी किम केअन–हीलाई दिइएको सात वर्षको जेल सजाय घटाएर पाँच वर्ष कायम गरेको छ ।

मंगलबार सिओल उच्च अदालतले गरेको फैसलामा केही अभियोगमा उनलाई सफाइ दिँदै सजायमा दुई वर्ष कटौती गरिएको हो । सिओल उच्च अदालतले सरकारी पद बिक्री र भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै पूर्व प्रथम महिला किम केअन–हीविरुद्धको सजाय घटाएको हो ।

अदालतले उनलाई केही साना अभियोगबाट सफाइ दिए पनि मुख्य भ्रष्टाचारका मुद्दामा दोषी ठहर गरेको छ । फैसलासँगै अदालतले उनले उपहारस्वरूप लिएका सामग्री जफत गर्ने आदेश दिएको छ भने २४.४ मिलियन वन (करिब १८ हजार अमेरिकी डलर) जरिवाना तोकेको छ ।

अनुसन्धानको नेतृत्व गरेका विशेष काउन्सिल मिन जोङ–कीको टोलीले पदको दुरुपयोग गरी बहुमूल्य गहना र विलासी वस्तुहरू लिएको भन्दै सात वर्षको सजाय माग गरेको थियो । यद्यपि, अदालतले सन् २०२२ मा एक रोबोट डग व्यवसायीबाट लिएको विलासी घडी र केही तस्बिरसम्बन्धी अभियोगमा पर्याप्त प्रमाण नभएको भन्दै उनलाई ती आरोपबाट सफाइ दिएको छ ।

अदालतले अन्य गम्भीर भ्रष्टाचारका अभियोग भने कायमै राखेको छ । किमले सन् २०२२ को मार्चदेखि मे महिनाको अवधिमा एक व्यवसायीबाट बहुमूल्य गहना (हार, ब्रोच र झुम्का) लिएर उनका ज्वाइँलाई सरकारी नियुक्ति दिलाएको पुष्टि भएको छ ।

त्यस्तै, एक पादरीबाट विलासी झोला र अन्य सामग्री तथा पूर्व शिक्षा आयोग प्रमुखबाट सुनको कछुवा लिई नियुक्तिमा अनुचित प्रभाव पारेको अभियोगमा उनी दोषी ठहरिएकी छिन् । साथै, सन् २०२३ मा राजनीतिक मनोनयनका लागि पूर्व सरकारी वकिलबाट पेन्टिङ उपहार लिएको मुद्दा पनि अदालतले सदर गरेको छ ।

अगस्ट २०२५ मा पक्राउ परेपछि हिरासतबाटै मुद्दा खेपिरहेकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा रही सुनुवाइ हुने पहिलो पूर्व राष्ट्रपति पत्नी हुन् ।

Share News