काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलीमा खानमलाई पञ्जाब प्रान्तको लाहोरमा हिरासतमा लिइएको छ ।
लाहोरका डेपुटी कमिस्नरले उनको हिरासतको पुष्टि गरे ।
इमरान खानका छोरा कासिम खानले सामाजिक सञ्जाल एक्समार्फत अलीमा खानमलाई प्रहरीले अपहरण गरेको आरोप लगाएका छन् ।
उनले परिवारलाई अलीमालाई कहाँ लगिएको भन्ने जानकारी नदिइएको र परिवार तथा उनका वकिलले समेत उनीसँग सम्पर्क गर्न नसकेको बताएका छन् ।
कासिमले सरकारमाथि मानिसलाई नियन्त्रणमा लिएर परिवारमा डर पैदा गरेको तथा मानवअधिकार, उचित कानुनी प्रक्रिया र कानुनको शासनको उल्लंघन गरेको आरोपसमेत लगाएका छन् ।
‘पहिले उनीहरूले मेरा बुबालाई जेलमा हाले । अब उनीहरू उनको परिवारको पछि लागेका छन्,’ उनले लेखेका छन् ।
बीबीसी उर्दूका अनुसार अलीमा खानमका आफन्त कासिम जमान खानले उनलाई लाहोर जिमखानाबाहिरबाट हिरासतमा लिएर कोट लखपत जेलमा स्थानान्तरण गरिएको बताएका छन् ।
उनका अनुसार शान्ति भंग हुन सक्ने आशंकाका आधारमा डेपुटी कमिस्नरले अलीमा खानमलाई हिरासतमा लिन प्रहरीलाई आदेश दिएका थिए ।
त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा पक्राउ गरेको हो ।
लाहोर प्रहरीले भने घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
जेलमा रहेका इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले आगामी सेप्टेम्बर २७ मा इस्लामाबादतर्फ लामो मार्च गर्ने घोषणा गरेको छ ।
सोहीबीच अलीमा खानमलाई हिरासतमा लिइएको हो ।
अलीमा खानम यसअघि पनि पीटीआई समर्थकहरूसँग विभिन्न प्रदर्शनमा सहभागी हुँदै आएकी छन् ।