१५ वर्षदेखि रुग्ण कमला पुल, अब दुई महिनाभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । 

पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको बाँकी कामले गति लिएको हो । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो । 

नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ । पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुनेछ ।

धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुन माटो भर्ने काम सम्पन्न गरिनेछ । सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ। यसैगरी, पुलको लोड परीक्षणसमेत सम्पन्न भईसकेको छ ।  अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

२०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो । सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् । आगामी हप्ता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ ।

Share News