क्यानडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको आपत्ति

काठमाडौं । क्यानडालाई युरोपेली संघ (ईयू) को पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्ताव अघि बढेमा युरोपसँगको व्यापारमा कडा कदम चाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ईयूले यस्तो कदमलाई शत्रुतापूर्ण गतिविधिका रूपमा अघि बढाएमा युरोपेली सामानमा धेरै गम्भीर भन्सार महसुल लगाउने वा धेरै क्षेत्रमा व्यापार रोक्ने सम्भावना रहेको बताएका छन् । उनले क्यानडासँग सम्बन्धित प्रस्तावलाई हास्यास्पद रहेको टिप्पणी गरे ।

ट्रम्पको चेतावनी युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले बुधबार स्ट्रासबर्गमा युरोपेली संसद्मा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा क्यानडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव राखेपछि आएको हो ।

उनले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै क्यानडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने दिशामा काम गर्न चाहेको बताएकी थिइन् ।

कार्नीले पछि युरोपेली संसद्मा सम्बोधन गर्दै क्यानडा र युरोपबीच रणनीतिक सहकार्य थप गहिरो बनाउन समर्थन जनाए । उनले महत्त्वपूर्ण खनिज, कृत्रिम बुद्धिमत्ता, रक्षा, डिजिटल व्यापार र ऊर्जा सुरक्षालगायत क्षेत्रमा सहकार्यको सम्भावना औँल्याए ।

युरोपेली आयोगले क्यानडासँगको प्रस्ताव कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको र आपसी आर्थिक तथा रणनीतिक क्षमता बलियो बनाउने उद्देश्य रहेको बताएको छ ।

हाल ‘सहयोगी सदस्य’को प्रस्तावको ठोस संरचना र कार्यान्वयनसम्बन्धी विवरण भने पूर्ण रूपमा स्पष्ट भइसकेको छैन । ईयूका केही कूटनीतिज्ञहरूले यसको स्वरूप र व्यावहारिक कार्यान्वयनबारे प्रश्न उठाएका छन् ।

Share News