नेपाल प्रहरीले खुलायो ३३४ जनाका लागि नयाँ भर्ना

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदमा ३३४ जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न आवेदन माग गरेको हो ।

माग गरिएका पदमध्ये प्रहरी सहायक निरीक्षक (जनपद) तर्फ २११ जना रहेका छन् । त्यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३ जना, हजाम १६ जना र कुचिकार २५ जना गरी ३३४ जनाका लागि आवेदन खुलाइएको छ ।

समावेशी प्रावधानअनुसार खुला, अमर तथा अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाति, मधेसी, दलित तथा पिछडिएको क्षेत्रका लागि समेत सिट छुट्याइएको प्रहरीले जनाएको छ ।

इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन् । प्रहरी सहायक निरीक्षक पदका लागि अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । उम्मेदवारले नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

प्रहरी कार्यालय सहयोगी पदका लागि भने तोकिएका कार्यालयमा स्वयं उपस्थित भएर कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ ।

दरखास्त संकलन तथा दर्ताका लागि सातै प्रदेशका प्रदेश प्रहरी तालिम केन्द्रलाई सम्पर्क केन्द्र तोकिएको छ । विराटनगर, जनकपुर÷राजविराज, दुधौली, पोखरा, बुटवल, सुर्खेत÷नेपालगन्ज र दिपायलस्थित तालिम केन्द्रबाट आवेदन दिन सकिनेछ । त्यस्तै, काठमाडौं उपत्यका प्रहरी शिक्षालय, महाराजगन्जबाट समेत आवेदनसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने प्रहरीले जनाएको छ ।

null

Share News