काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणको दोस्रो दिन आज विभिन्न महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाटमा सहभागी हुँदै छन् ।
तीन दिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गर्नुभएका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
भ्रमणको दोस्रो दिन शुक्रबार अर्थमन्त्री वाग्ले विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी हुँदै छन् । उनी बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कार्यक्रममा उनले आफ्नो धारणा राख्ने छन् ।
त्यसैगरी, अर्थमन्त्री वाग्लेले शुक्रबार भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्ता साँझ ५ बजेका लागि तय गरिएको छ ।
अर्थमन्त्री वाग्लेले भारत व्यापार संवर्द्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने वृहत् भेटघाट कार्यक्रममा समेत सहभागिता जनाउने छन् । भारत मण्डपममा आयोजना हुने उक्त कार्यक्रममा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे उच्चस्तरीय छलफल हुने बताइएको छ ।
अर्थमन्त्री वाग्लेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी, नेपाली दूतावास नयाँ दिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, आर्थिक मन्त्री तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।
भ्रमणको तेस्रो तथा अन्तिम दिन शनिबार निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्चस्तरीय व्यक्तिसँग भेटघाट गरेपछि अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम रहेको छ ।