काठमाडौं । समाज कल्याण परिषद्को आर्थिक वर्ष २०८३/०८४ को पहिलो बैठकले परिषद्को सम्पत्ति व्यवस्थापन, वित्तीय अनुशासन तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीकाे अध्यक्षतामा बसेको बैठकले परिषद्को चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।
बैठकले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ ।
परिषद्को नाममा रहेका जग्गा, जमिनलगायतका सम्पत्तिको खोजविन गरी यथार्थ अवस्था पहिचान र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
परिषद्को सम्पत्तिको अभिलेखीकरण, संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो ।
त्यसैगरी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय साझेदार संस्था छनोट गर्दा अपनाउनुपर्ने प्रक्रिया सम्बन्धी कार्यविधि परिमार्जन गर्न समिति गठन गर्ने निर्णय गरिएको छ ।
कार्यविधिलाई समयानुकूल बनाउँदै साझेदार छनोट प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखिएको छ ।
बैठकले भृकुटीमण्डप र इच्छुमतीस्थित परिषद्को जग्गामा निर्माण भएका संरचनाहरूको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, परिषद्को नाममा कायम रहेको बेरुजु शून्यमा झार्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न परिषद् कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।
परिषद्को वित्तीय अनुशासन सुदृढ गर्दै बेरुजु फर्छ्योटलाई प्राथमिकताका साथ अघि बढाउन बैठकले जोड दिएको छ ।
बैठकले परिषद्को सम्पत्ति संरक्षण तथा व्यवस्थापन, वित्तीय अनुशासन, बेरुजु फर्छ्योट, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको साझेदारी प्रक्रिया सुधार तथा परिषद्को जग्गामा निर्मित संरचनाको अध्ययनलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्दै परिषद्को कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने तथा संस्थागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णयसहित बैठक सम्पन्न भएको छ ।