इबोला सङ्क्रमण घट्दो क्रममा, उच्च जोखिम भने कायमै रहेको चेतावनी

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा पछिल्लो समय इबोला भाइरसको सङ्क्रमण दरमा केही कमी देखिए पनि महामारी उत्कर्षमा पुगेर नियन्त्रणतर्फ गइसकेको निष्कर्ष निकाल्न अझै हतार हुने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्  ।

कङ्गोको राष्ट्रिय जनस्वास्थ्य संस्थान (आईएनएसपी) का वरिष्ठ अधिकारी क्रिस्टियन न्गान्दुले राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा महामारीको अघिल्लो चरणको तुलनामा पछिल्ला दिनहरूमा सङ्क्रमितको कुल सङ्ख्या घटेको जानकारी दिए । उनले महामारी विज्ञानसम्बन्धी तथ्याङ्क विश्लेषण गर्दा सङ्क्रमणको प्रवृत्ति घट्दो देखिए पनि यसै आधारमा मात्र ढुक्क हुन नसकिने स्पष्ट पारे ।

न्गान्दुले भने, ‘हामीले यसलाई केवल एउटा घट्दो प्रवृत्तिका रूपमा मात्र लिएका छौँ र समयसँगै यसको सूक्ष्म मूल्याङ्कन आवश्यक छ । प्रभावकारी नतिजा हासिल गर्न हामीले नियन्त्रणका प्रयासहरूलाई निरन्तरता दिनुपर्छ; यदि हामीले प्रयास खुकुलो बनायौँ भने सङ्क्रमण पुनः तीव्र रूपमा फैलिन सक्छ ।’

सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार कङ्गोमा सेप्टेम्बर ८ सम्म ६ हजार ८ सय ४३ जनामा इबोला सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये ३ हजार ३ सय १० जनाको ज्यान गएको छ भने १ हजार ६ सय ११ जना उपचारपछि निको भएका छन् ।

हाल यस महामारीको मृत्युदर ४८.४ प्रतिशत पुगेको छ । महामारीलाई नियन्त्रणमा ल्याउन कङ्गो सरकारले हाल १८० दिने अद्यावधिक प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको छ । यसअन्तर्गत समुदायस्तरको निगरानी, कन्ट्याक्ट ट्रेसिङ, रोकथाम र उच्च जोखिमयुक्त क्षेत्रहरूमा स्वास्थ्य पूर्वतयारीलाई उच्च प्राथमिकता दिइएको छ ।

सबै सरोकारवालाहरूको सहकार्यमा १८० दिनभित्र महामारी पूर्ण नियन्त्रणमा आउने विश्वास अधिकारीहरूले व्यक्त गरेका छन् ।

गत मे महिनामा घोषणा गरिएको यो प्रकोप कङ्गोको इतिहासमै हालसम्मकै सबैभन्दा ठूलो र घातक महामारी बनेको छ । साथै, सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि यो विश्वकै दोस्रो ठूलो इबोला प्रकोपका रूपमा दर्ज भएको छ ।

Share News