मुद्रास्फीति नियन्त्रण गर्न बैंक अफ जापानले ब्याजदर थप वृद्धि गर्ने

काठमाडौं । मुद्रास्फीति नियन्त्रणको प्रयासमा पछि नपर्नका लागि बैंक अफ जापान (बीओजे) ले आफ्नो प्रमुख नीतिगत ब्याजदर वृद्धि यात्रालाई निरन्तरता दिने भएको छ । बैंकको आगामी साता हुने नीतिगत बैठकको पूर्वसन्ध्यामा मौद्रिक नीति समितिका सदस्य काजुयुकी मासुले बिहीबार यस्तो सङ्केत गरेका हुन् ।

जापानको फुकुई प्रिफेक्चरमा आयोजित एक कार्यक्रममा व्यावसायिक नेतृत्वहरूलाई सम्बोधन गर्दै बोर्ड सदस्य मासुले आर्थिक गतिविधि, मूल्यवृद्धि तथा वित्तीय अवस्थाको विकासक्रमलाई दृष्टिगत गरी बैंकले नीतिगत ब्याजदर बढाउँदै लैजाने र मौद्रिक सहजतालाई समायोजन गर्ने बताए ।

सम्बोधनका क्रममा उनले भने, ‘अबको प्रमुख चुनौती भनेको आधारभूत मुद्रास्फीति दरलाई २ प्रतिशतभन्दा धेरै माथि जान नदिनु हो ।’

उनका अनुसार मूल्यवृद्धि नियन्त्रणबाहिर जान नदिन अग्रगामी कदम चाल्नु अपरिहार्य भएको छ ।

जापानको केन्द्रीय बैंकले आगामी सेप्टेम्बर १७ र १८ मा बस्ने नीतिगत समीक्षा बैठकमा ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर १.२५ प्रतिशत पु¥याउने व्यापक अनुमान गरिएको छ । यसअघि बैंकले गत जुन महिनाको बैठकमा नीतिगत दर ३१ वर्षकै उच्च १.० प्रतिशत पुर्याएको थियो भने जुलाई महिनाको बैठकमा त्यसलाई यथावत् राखेको थियो ।

दशकौँ लामो अपस्फीति (डिफ्लेसन) र ऋणात्मक ब्याजदरको युगपछि मौद्रिक नीतिको सामान्यीकरण प्रक्रिया पूरा गर्न थप दर वृद्धि आवश्यक रहेको सदस्य मासुले प्रस्ट पारे ।

हाल जापानको वित्तीय अवस्था अझै सहज रहेकाले मुद्रास्फीति तीव्र भएमा केन्द्रीय बैंकले बाध्य भएर तीव्र गतिमा ब्याजदर बढाउनुपर्ने जोखिम रहने चेतावनीसमेत उनले दिएका छन् ।

Share News