काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि एमभी दुगड ग्रुप परिवारले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सहयोग रकममा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगसमेत समावेश गरिएको छ ।
सहयोग रकमको चेक आज अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडको उपस्थिति थियो ।
ग्रुपले बाढी तथा पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले गरिरहेको प्रयासको ग्रुपले प्रशंसा गरेको छ ।
जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रम वृद्धिका कारण प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा दुगड ग्रुपले वातावरण संरक्षणलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ ।
ग्रुपले विसं २०७८ देखि देशव्यापी रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी विरुवा रोपिएको ग्रुपले जनाएको छ ।
यस्तै, करिब ६ किलोमिटर लामो राजमार्ग खण्ड तथा विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका विरुवा रोपेर संरक्षण गरिएको जनाएको छ ।
ग्रुपले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका राहत, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्यक्रमलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।