प्रधानमन्त्री राहत कोषमा नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल मेडिकल कलेज र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

दुवै मेडिकल कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सोमबार नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकमको चेक हस्तान्तरण गरेको हो ।

नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनका अनुसार रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले दुवै मेडिकल कलेजका तर्फबाट उक्त रकम कोषमा जम्मा गरिएको हो ।

डा. यासमिनले विपद्को यस्तो विषम परिस्थितिमा सबैले राज्यसँग हातेमालो गर्नुपर्ने बताइन् । 

देशको जुनसुकै क्षेत्रमा नागरिक पीडामा परेको अवस्थामा आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्नु सामाजिक दायित्व भएको उनको भनाइ छ ।

राहत रकम ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले दुवै मेडिकल कलेजले गरेको योगदानको प्रशंसा गरे । 

देश संकटमा परेको बेला हरेक नागरिक तथा संस्थाले आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रबाट भइरहेको सहयोग र सहकार्यप्रति सरकार कृतज्ञ रहेको बताए ।

नेपाल मेडिकल कलेज, काठमाडौं र नेशनल मेडिकल कलेज, वीरगञ्जले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

Share News