९ सयभन्दा बढी अझै सम्पर्कबिहीन, ६६९ मेगावाटका १२ हाइड्रोपावर सोत्तर

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा क्षेत्रका कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजनाहरू (८ वटा सञ्चालनमा र ४ वटा निर्माणाधीन) गम्भीर रूपमा प्रभावित बनेका छन् । 

बाढीबाट ११ वटा आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य ६ वटा आयोजना प्रभावित भएका छन् ।विभिन्न आयोजना स्थलहरूबाट ९ सयभन्दा बढी जनशक्ति अझै सम्पर्कविहीन रहेकाले नेपाली सेना, प्रहरी, तालिमप्राप्त कुकुर, ड्रोन र विज्ञ टोलीको सहयोगमा खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ । 

सबैभन्दा ठूलो क्षति भोगेको निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ८७८ जनाको उद्धार गरिसकिएको छ भने ९ कोरियन, ३४ चिनियाँ र ५० भारतीयसहित ५४८ जना अझै हराइरहेका छन् । 

सेनाको हेलिकप्टरबाट हेभी इक्विपमेन्ट लैजाने प्रयास जटिल भौगोलिक अवस्थाका कारण सम्भव हुन सकेको छैन । त्यसैगरी ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाबाट १७८ जना हराइरहेका छन्, जहाँ सुरुङ सफा गरी ठूला एक्स्काभेटर र जेसिबी पुर्याएर पुरिएका आवास तथा कार्यालय क्षेत्रमा उत्खनन तीव्र पारिएको छ ।

अन्य आयोजनाहरूमा १११ मेगावाटको रसुवागढीका ९३ जना, १२० मेगावाटको रसुवा–भोटेकोशीका ५ जना, २० मेगावाटको लाङटाङ खोलाका ३९ जना (२ जनाको शव फेला परेको) र ५ मेगावाटको मैलुङ खोलाका ७ जना अज्ञात रहेका छन् । 

२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रको विद्युत् गृहमा फसेकाहरूको अवस्था थाहा हुन सकेको छैन, त्यहाँ पहुँच सडक क्षतिग्रस्त भएकाले डोरीको सहायताले प्रवेशद्वारसम्म पुगेर मानिसद्वारा सुरुङ सफाइ तथा सडक निर्माणको काम भइरहेको छ । 

बाढीबाट नेपाल विद्युत् प्राधिकरणका सञ्चालित त्रिशूली (२४ मेगावाट), देवीघाट (१४.१ मेगावाट), माथिल्लो त्रिशूली-३ए (६० मेगावाट) र नुवाकोट सौर्य विद्युत् (२५ मेगावाट) आयोजनाहरू पनि पूर्ण रूपमा प्रभावित भएका छन् । 

तीमध्ये माथिल्लो त्रिशूली-३ए बाट ३९ जना, त्रिशूलीबाट ३ जना र देवीघाटबाट १ जना सुरक्षागार्ड/कर्मचारीको खोजी भइरहेको छ । 

त्यस्तै,१५.६ मेगावाटको निर्माणाधीन तल्लो त्रिशूली गङ्गाका २ जना पनि सम्पर्कविहीन छन् । कठिन भूगोल, निरन्तरको पहिरो र सडक पहुँच थप्प भएका कारण खोजी तथा उद्धार कार्य निकै चुनौतीपूर्ण बनिरहेको छ । 

Share News