रसुवामा यातायात सहज बन्दै, पाटिखर्क पुग्ने दुई वैकल्पिक सडक सञ्चालनमा

काठमाडौं । त्रिशूलीदेखि बेत्रावतीसम्मको मुख्य राजमार्ग क्षतिग्रस्त भएपछि रसुवा जिल्लासँग यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ ।

ढिकुरे (मध्यपहाडी राजमार्ग)–फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क–भोर्ले–जिबजिबे–बोगटीटार (पासाङल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क खण्डमा मर्मत तथा सुधारको काम सम्पन्न गरी यातायात सञ्चालन सहज बनाइएको हो ।

उक्त खण्डमा एक्साभेटर, ब्याकहो लोडर र टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँघुरा स्थानमा सडक चौडा पार्ने, ग्राभेल गर्ने तथा कल्भर्ट निर्माणलगायतका काम गरिएको छ ।

मर्मत तथा सुधारपछि पाटिखर्कसम्मको उक्त सडकमा ठूला सवारीसाधनसमेत दुईतर्फी सञ्चालन गर्न सकिने अवस्था बनेको बताइएको छ । यसले मुख्य राजमार्ग अवरुद्ध हुँदा रसुवातर्फको यातायात सम्पर्क कायम राख्न थप सहजता पुगेको छ ।

यसअघि काठमाडौं–टोखा–छहरे–चौघडा पुल–बाहुनबेसी–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकबाट चारचक्के साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।

Share News