काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बाढीका कारण पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोराला नाकामा व्यापारिक चाप निकै बढेको छ । रसुवागढी नाकाबाट हुने सबै आयात कोरलातर्फ डाइभर्ट हुँदा यस नाकाको व्यस्तता बढेको हो ।
भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार बाढीका कारण रसुवागढी नाका बन्द भएको छ भने चीन तर्फबाट तातोपानी नाका समेत आगामी सेप्टेम्बर ३ सम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ ।
दुवै नाका बन्द भएपछि सबै आयात कोराला नाका सरेको उनको भनाइ छ । अहिले मुख्य व्यापारिक केन्द्रका रूपमा कोरला नाका रूपमा विकास भइरहेको प्रवक्ता बर्तौलाले विकासन्युजलाई जानकारी दिए ।
व्यापारिक चाप बढे पनि कोराला नाकामा नेपालतर्फको भौतिक पूर्वाधार भने अत्यन्तै कमजोर रहेको प्रवक्ता बर्तौलाले बताए ।
चीनले आफ्नोतर्फ व्यवस्थित संरचना बनाए पनि नेपालतर्फ भन्सारको आफ्नै भवन समेत छैन । हाल एउटै सानो कोठाबाट सबै कर्मचारीले कार्यसम्पादन गरिरहेका छन् ।
‘भौगोलिक रूपमा उच्च उचाइमा हुनु आफैमा चुनौती हो, त्यसमाथि व्यवस्थित भवन, कर्मचारी आवास र गोदामको अभाव छ,’ बर्तौलाले भने, ‘अहिले एउटै कोठालाई पार्टेसन गरेर कोचिएर काम गर्नुपर्ने बाध्यता छ । ’
सरकारले त्यहाँ एकीकृत जाँच चौकी बनाउने योजना बनाए पनि हालका लागि अस्थायी संरचनामा लगानी गर्न बजेटको समेत समस्या रहेको उनले जानकारी दिए ।
भन्सार विभागका अनुसार कोरला नाकामा हाल ९ जना कर्मचारीको भरमा चलिरहेको छ । जसमा १ जना उपसचिव (प्रमुख), २ जना अधिकृत र ६ जना इन्स्पेक्टर खटिएका छन् । चापअनुसार यो जनशक्ति निकै कम हो ।
सूचना अधिकारी बर्तौलाका अनुसार नाकामा दरबन्दी थप्नका लागि संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण हुनुपर्ने र त्यसलाई मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । यो प्रक्रिया पुरा नभई थप जनशक्ति पठाउन र उनीहरूलाई तलब खुवाउन प्रशासनिक रूपमा नमिल्ने उनले बताए ।
कोभिड-१९ को समयमा मुस्ताङका स्थानीयका लागि मात्र थोरै सामान आयात हुने गरेको यो नाका अहिले देशभरकै लागि व्यापारिक मार्ग बन्न पुगेको छ ।
रसुवा र तातोपानीको विकल्पका रूपमा कोरलाबाट व्यापारिक सामानहरू भित्रिन थालेका छन् । तर, अक्सिजनको व्यवस्था सहितको आधुनिक भवन र गोदाम नबनेसम्म कर्मचारी र व्यापारी दुवैका लागि यो नाका सहज नहुने प्रवक्ता बर्तौलाको भनाइ छ ।
हाल तातोपानी नाका सेप्टेम्बर ३ पछि खुल्ने वा नखुल्ने भन्नेबारे चिनियाँ पक्षको अर्को सूचना आएपछि मात्र प्रस्ट हुने उनले जानकारी दिए ।
पूर्वाधार र जनशक्तिको चरम अभाव
यसैगरी, चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङको कोराला नाका मुख्य विकल्पका रूपमा देखा पर्न थालेको भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंह बताउँछन् । रसुवागढी नाका ठप्प बनेको र तातोपानी नाकामा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको भन्दै व्यापारीहरूले कोरलालाई प्राथमिकता दिन थालेका उनको भनाइ छ ।
बढ्दो व्यापारिक सम्भावनासँगै कोरला नाकामा पूर्वाधार र जनशक्तिको भने चरम अभाव देखिएको उनी बताउँछन् ।
मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी सिंहका अनुसार अहिले कोरला नाकाबाट नियमित रूपमा आयात-निर्यात भइरहेको छ । रसुवा हुँदै आउने गाडीहरू कोरलातर्फ मोडिन थालेकाले आगामी केही दिनमा आयातको परिमाण अझै बढ्ने देखिएको छ । ‘चीन तर्फबाट गाडीहरू छोड्न थालेपछि यहाँको चाप अझै बढ्नेछ,’ सिंहले भने ।
असीमित चुनौती
व्यापारिक चाप बढे पनि भन्सार कार्यालयमा जनशक्तिको अवस्था भने नाजुक छ । हाल यो कार्यालय एक जना प्रमुख, एक जना सीएसबी, दुई जना अधिकृत र तीन जना सुब्बाको भरमा सञ्चालन भइरहेको उनको भनाइ छ ।
सीमित कर्मचारीले बढ्दो कार्यभार धान्नुपर्ने बाध्यता छ । भन्सार विभागले मौखिक रूपमा जनशक्ति थप्ने आश्वासन दिए पनिवअहिलेसम्म ठोस निर्णय भने भइनसकेको अधिकारी सिंहले जानकारी दिए ।
एउटै कोठामा तीनवटा कार्यकक्ष
कोराला नाकामा भौतिक पूर्वाधारको अवस्था निकै कमजोर रहेको उनको भनाइ छ । उनका अनुसार डेढ महिनाअघि मात्रै कार्यालयका लागि एउटा सानो भवनको व्यवस्था गरिएको भए पनि त्यो पर्याप्त छैन ।
‘अहिले एउटा कोठालाई पार्टेसन गरेर तीनवटा कार्यकक्ष निकालिएको छ, जहाँ एउटै डेस्कमा तीन जनासम्म साथीहरूले बसेर काम गर्नुपर्ने अवस्था छ,’ सूचना अधिकारी सिंहले विकासन्युजसँग भने ।
कार्यालयका अनुसार एकीकृत जाँच चौकी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन भइसकेकाले अस्थायी संरचनामा बजेट लगानी गर्न सरकारी निकाय हच्किएका हुन् । जसका कारण तत्कालका लागि व्यापारी र एजेन्टहरूलाई आवश्यक पर्ने न्यूनतम सुविधा समेत व्यवस्थापन गर्न कठिन भइरहेको छ ।
यस वर्षदेखि कोराला नाकाबाट क्वारेन्टाइनसम्बन्धी वस्तुहरू (जस्तै स्याउ लगायतका कृषिजन्य सामग्री) समेत आयात गर्ने तयारी भइरहेको छ । यसअघि स्थानीय बासिन्दाले केही असहमति जनाएका कारण यो प्रक्रिया अघि बढ्न सकेको थिएन । व्यापारीहरूले यस विषयमा चासो देखाइरहेका छन् भने भन्सार कार्यालयले यसबारे विभाग र स्थानीयसँग समन्वय गरेर अगाडि बढ्ने योजना बनाएको छ ।
उत्तरी नाकाहरूको विकल्पका रूपमा कोरालाको महत्त्व बढ्दै गए पनि सरकारले समयमै पर्याप्त जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्था नगरे व्यापार व्यवस्थापनमा ठुलो चुनौती आउने निश्चित देखिएको छ ।
तातोपानी नाका बन्द
चीन सरकारले रसुवागढीमा आएको बाढीपछि तातोपानी नाकासमेत बन्द गरेको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरिएको छ ।
जसमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख छ । यसबारे थप जानकारी प्राप्त नभएको उनले बताए । रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो ।
तर, उक्त नाकासमेत बन्द भएपछि नेपाल–चीन व्यापारको विकल्प कोराला बनेको छ । चाडबाडको मुखमा दुवै नाका अवरुद्ध हुँदा त्यसले नेपाली बजारमा भने प्रत्यक्ष असर पुग्ने धेरैको अनुमान छ ।