रसुवा बाढीपीडितका लागि ललितपुर महानगरपालिकाले १ करोड दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरपालिकाले भदौ १० गते रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

महानगरपालिकाले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि महानगरपालिकाको तर्फबाट १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् ।

महानगरपालिकाले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप प्राविधिक तथा मानवीय सहयोग उपलब्ध गराउन आफू तत्पर रहेको जनाएको छ ।

विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, सुरक्षा निकाय, गैरसरकारी तथा निजी क्षेत्र, सामाजिक संघ–संस्था, सञ्चारमाध्यम र आम नागरिकबीच थप एकता, सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिकाले जनाएको छ ।

विपद्सम्बन्धी समन्वय तथा सहयोगका लागि महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख लव कार्कीलाई ९८६०२०५१२० मा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

Share News