ग्लोबल आइएमई क्यापिटलद्वारा बाढीपीडितको उद्धार तथा राहतका लागि १० लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति क्यापिटलले दुःख व्यक्त गरेको छ ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाउने नागरिकप्रति क्यापिटलले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विपद्मा परेका नागरिकको खोज तथा उद्धार, घाइतेहरूको उपचार, प्रभावित परिवारलाई तत्काल खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

Share News