काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाका लागि कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्न माग गरेको छ ।
सिबिफिनले वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता तथा ब्याज भुक्तानीमा सहजीकरण गर्न सदस्य बैंक तथा वित्तीय संस्थालाई आवश्यक समन्वय र सहजीकरण गर्ने जनाएको हो ।
सिबिफिनका अनुसार बाढीका कारण बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा र समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने सिबिफिनको भनाइ छ ।
सिबिफिनले प्रभावित व्यवसाय तथा परियोजनाको पुनःसञ्चालन र पुनर्निर्माणका लागि समेत आवश्यक सहयोग उपलब्ध गराउन सदस्य संस्थाका सञ्चालक समितिमार्फत पहल गर्ने जनाएको छ । साथै, नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्नसमेत प्रयास गर्ने बताएको छ ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिबिफिनले घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गरेको छ ।
यस कठिन परिस्थितिमा मानवीय उद्धार तथा राहत, कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता रहेको सिबिफिनले जनाएको छ । प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक व्यवस्था गरिरहेको पनि जनाएको छ ।