बैंकहरूले सीएसआरको रकम राहत, उद्धार र औषधी उपचारमा खर्च गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याएको रकम प्राकृतिक प्रकोपका पीडितको औषधोपचार, राहत तथा उद्धारमा समेत खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१’ को पहिलो संशोधन गर्दै सामाजिक उत्तरदायित्वको रकम उपचार, राहत तथा उद्धारमा समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो ।

रसुवामा आएका बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि केन्द्रीय बैंकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई लक्षित गर्दै यस्तो व्यवस्था थप गरेको हो । संशोधित मार्गदर्शनअनुसार प्राकृतिक प्रकोप तथा महामारीबाट प्रभावितलाई वितरण गरिने लत्ताकपडा, खाद्यान्न, टेन्ट, भाँडाकुँडालगायत बन्दोबस्तीका सामग्रीका साथै पीडितको औषधोपचार, उद्धार तथा राहत कार्यमा हुने खर्च सामाजिक उत्तरदायित्वको रकमबाट व्यहोर्न सकिनेछ । 

यसले प्राकृतिक विपद्का पीडितको उपचार तथा उद्धारमा बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वको रकम परिचालन गर्न सहज बनाउनेछ । 

Share News