काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले हालै रसुवा र नुवाकोट जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरपालिकाको बिहीबार आयोजित कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायता स्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
विपदमा परेका जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपत्तिमा मलम लगाउन र आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो सहयोग रकम प्रदान गर्न लागिएको हो ।
गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले कार्यपालिका बैठकपछि जानकारी दिँदै भने, ‘रसुवा र नुवाकोटमा गएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ ।
यस्तो संवेदनशील र दुःखद समयमा एक स्थानीय सरकारले अर्को जिल्लाका नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक तथा मानवीय दायित्व हो ।’
प्रमुख महर्जनका अनुसार घोषित ५० लाख रुपैयाँ रकममध्ये दुवै जिल्लाका अति प्रभावित क्षेत्र र पीडित परिवारको पुनरोत्थान तथा राहत कार्यका लागि आवश्यकता अनुसार समन्वय गरी वितरण गरिनेछ ।
पछिल्लो समय परेको अविरल वर्षाका कारण रसुवा र नुवाकोटका धेरै बस्तीहरू जोखिममा पर्नुका साथै ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् ।
गोदावरी नगरपालिकाले अन्य स्थानीय तह तथा संघसंस्थालाई पनि यस विपद्को समयमा आफ्नो तर्फबाट सहयोगको हात बढाउन अपिल गरेको छ ।