काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री शाह बिहीबार (आज) बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए ।
उनले बाढी प्रभावित बस्तीहरूको भौतिक अवस्था, क्षतिको विवरण तथा प्रभावित नागरिकको अवस्थाबारे स्थलगत जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट क्षतिग्रस्त भौतिक संरचना तथा पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्था र उद्धार तथा राहत कार्यबारे विस्तृत छलफल गरेको थियो ।
प्रधानमन्त्री शाहले बाढीबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य अत्यावश्यक पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
त्यसैगरी, तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनस्र्थापनाका लागि आवश्यक कामलाई तीव्रता दिन पनि उनले निर्देशन दिएका छन् ।
यसअघि रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार, राहत तथा विपद् व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठकहरू आह्वान गर्दै सम्बन्धित निकायलाई निरन्तर निर्देशन दिँदै आएका थिए ।
प्रधानमन्त्री शाह स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि आजै काठमाडौं फर्किएका छन् ।