काठमाडौं । तिब्बतबाट बुधबार (आज) बिहान एक्कासि आएको भीषण बाढीले रसुवाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनलाई उच्च जोखिममा राखिएको छ ।
बिहान करिब ९ बजे भोटेकोसी नदीमा एक्कासि आएको बाढी तल्लो तटीय क्षेत्रमा फैलिँदै त्रिशूली नदी हुँदै नुवाकोटतर्फ अघि बढेको हो ।
प्रारम्भिक विवरणअनुसार बाढीले रसुवाको टिमुरे बजार, टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेँसी क्षेत्रलाई बढी प्रभावित बनाएको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएकाे छ ।
जलविज्ञहरूले स्थानीय क्षेत्रमा परेको वर्षाभन्दा तिब्बतमा हिमताल विस्फोट भएर आएको बाढी अर्थात् ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) का कारण यो घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले बाढीको स्रोत पहिचान गर्न स्थानीय प्रशासन तथा चिनियाँ पक्षसँग समन्वय गरिरहेको जनाएको छ ।
बाढीको बहाव बढ्दै गएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनार तथा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढीको उच्च बहाव बुधबार साँझसम्म मुग्लिनस्थित मर्स्याङ्दी नदीको दोभानसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको जनाएको छ ।
बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सम्भावित जोखिममा रहेका अन्य नागरिकलाई पनि सुरक्षित स्थानतर्फ सर्न निरन्तर सूचना प्रवाह भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बाढीका कारण सडकमार्गसमेत जोखिमपूर्ण बनेपछि सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेंसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन आग्रह पनि गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल उद्धार, खोज तथा राहत कार्य अघि बढाउन निर्देशन दिएलगत्तै सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरेका हुन् ।
जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रले सक्रियता बढाएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन् ।
नेपाली सेनाले पनि आफ्ना जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्धार तथा खोजी कार्य अघि बढाएको छ ।
प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।
आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा खोजीमा प्रयोग गर्न निजी कम्पनीका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।
बाढीबाट उत्पन्न अवस्थाबारे थप छलफल तथा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाइसकेका छन् ।