काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले कोरिया ओभरसिज भोलेन्टियर (केवभी) हस्तान्तरण समारोह सम्पन्न गरेको छ । कोइका नेपाल कार्यालयले शुक्रबार ललितपुरमा समारोह आयोजना गरेको हो ।
समारोहमा कोइका, सम्बन्धित संस्था तथा नेपालमा भर्खरै आइपुगेका स्वयंसेवकको सहभागिता थियो। कोरियाली स्वयंसेवक पार्क इन्सिल जुलाई १४ मा नेपाल आएकी थिइन् । उनले ललितपुरमा चार साता लामो अनुकूलन तालिमसमेत पूरा गरेकी छन् ।
पार्क इन्सिललाई काठमाडौंको कीर्तिपुर माध्यमिक विद्यालयमा प्रारम्भिक बाल विकास स्वयंसेवकका रूपमा नियुक्त गरिएको छ । उनले अगस्ट १७ देखि विद्यालयमा एक वर्ष स्वयंसेवा गर्नेछिन् ।
कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहेओन कोङले कीर्तिपुर माध्यमिक विद्यालय तथा विद्यालय व्यवस्थापनले कोइका र केवभी कार्यक्रमलाई दिएको स्वागतप्रति आभार व्यक्त गरे ।
उनले विद्यालय र कोइकाबीच केवभी कार्यक्रममार्फत निरन्तर सहकार्यको सुरुवात भएको बताए । आगामी दिनमा अर्थपूर्ण, दिगो र पारस्परिक लाभमा आधारित सहकार्य हुने अपेक्षा व्यक्त गर्दै उनले यसबाट विद्यालय र विद्यार्थीमा सकारात्मक तथा दीर्घकालीन परिणाम हासिल हुने विश्वास व्यक्त गरे ।
कोइकाका अनुसार केवभी कार्यक्रमको मुख्य उद्देश्य कोरियाली ज्ञान र अनुभवलाई स्थानीय तहसम्म प्रत्यक्ष रूपमा हस्तान्तरण गर्नु हो । यस कार्यक्रममार्फत साझेदार देशका नागरिकको जीवनस्तर सुधारसँगै कोरिया र साझेदार देशबीचको मित्रता तथा पारस्परिक समझदारी सुदृढ गर्ने लक्ष्य राखिएको छ । साथै, अन्तर्राष्ट्रिय समुदायले तय गरेका विकास लक्ष्य हासिल गर्ने प्रयासमा सहयोग पुर्याउने उद्देश्य पनि कार्यक्रमको रहेको छ ।
सन् १९९० देखि नेपाल सरकारको अनुरोधमा कोइका स्वयंसेवकहरू काठमाडौं उपत्यकासहित देशका विभिन्न सरकारी संस्थामा परिचालन हुँदै आएका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा योगदान गर्दै आएका छन् ।
हालसम्म कोइकाले नेपालमा ५०० स्वयंसेवक परिचालन गरिसकेको जनाएको छ । हाल काठमाडौं, ललितपुर, इलाम, कैलाली, कास्की, बागलुङ र रुपन्देहीका सरकारी संस्थामा ९ जना स्वयंसेवक कार्यरत छन् ।
केवभी कार्यक्रम कार्यान्वयनका क्रममा स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण पालना गर्न आवश्यक सबै उपाय अपनाउने प्रतिबद्धता कोइका नेपाल कार्यालयले जनाएको छ ।