चीन-दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले पुलको भूमिका खेल्नसक्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सम्बन्ध विस्तारका लागि नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

ललितपुरमा शुक्रबार आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

परराष्ट्रमन्त्री खनालले एसियाको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि ठूलो अवसर सिर्जना गरेको उल्लेख गर्दै सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको आधार भएको बताए ।

‘एसियाको रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको छ । सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको सुनिश्चित मार्ग हो,’ उनले भने ।

परराष्ट्रमन्त्री खनालले चीन र भारतको आर्थिक विकासले नेपालसहित छिमेकी मुलुकका लागि व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार विकास, कनेक्टिभिटी विस्तार, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्यका नयाँ सम्भावना खोलेको बताए ।

उनका अनुसार नेपालको परराष्ट्र नीतिको केन्द्रमा अहिले आर्थिक कूटनीति रहेको छ ।

व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु आर्थिक कूटनीतिको मुख्य उद्देश्य रहेको उनले स्पष्ट पारे ।

दक्षिण एसियामा ठूलो आर्थिक सम्भावना भए पनि क्षेत्रीय आर्थिक एकीकरण अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै उनले कनेक्टिभिटी, सहज व्यापार, लगानी प्रवाह र आपूर्ति शृंखला सुधार गर्न सके क्षेत्रले ठूलो लाभ लिन सक्ने बताए ।

‘सहकार्यको सफलता हामीले कति सम्झौता गर्यौं भन्ने होइन, नागरिकका लागि कति अवसर सिर्जना गर्न सक्यौं भन्ने आधारमा मापन हुनुपर्छ,’ खनालले भने ।

उनले वर्तमान सरकारले आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै गुणस्तरीय लगानी, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, पर्यटन, स्वच्छ ऊर्जा, डिजिटल रूपान्तरण, नवप्रवर्तन र निजी क्षेत्रको विकासमा जोड दिएको बताए ।

नेपाल दुई ठूला र तीव्र गतिमा विस्तार भइरहेका अर्थतन्त्रबीच अवस्थित भएकाले त्यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाललाई भूपरिवेष्ठित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने गतिशील पुलका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उनले बताए।

खनालले नेपालमा ४२ हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता, प्रचुर जलस्रोत, जैविक विविधता, उर्वर कृषि क्षेत्र तथा विस्तार हुँदै गएको डिजिटल अर्थतन्त्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गरे ।

उनले बुद्धको जन्मस्थल, सगरमाथा, गुरु पद्मसम्भवको आध्यात्मिक विरासत र विश्व सम्पदा क्षेत्रहरूले नेपालको ‘सफ्ट पावर’ बलियो बनाएको पनि बताए ।

क्षेत्रीय सहकार्य, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, अनुसन्धान, नवप्रवर्तन र जनस्तरीय सम्बन्ध विस्तारमा थप ध्यान दिनुपर्नेमा जोड दिँदै उनले विश्वविद्यालय, अनुसन्धान संस्था तथा थिंक ट्यांकबीचको सहकार्य आवश्यक रहेको बताए।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रको संयुक्त आयोजनामा भएको सम्मेलनमा चीन–भारत–नेपाल सम्बन्ध, क्षेत्रीय सहकार्य र बहुध्रुवीय विश्व व्यवस्थाबारे छलफल भएको थियो ।

Share News