विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीले लिए शपथ

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शपथ गराएका हुन् ।

त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।

विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन् ।

Share News