हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

काठमाडौं । मकवानपुरगढी गाउँपालिकामा बेमौसमी हावाहुरीले गोलभेँडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्कामा परेका छन् ।

ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन दिने बेलाका बोटहरू सोत्तर भएपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ । मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरका शम्सेर ल्वागुनले तरकारी मण्डीका साहुसँग ५० हजार रुपैयाँ ऋण लिएर टनेलमा गोलभेँडा खेती गरेका थिए ।

आफ्नो पुर्ख्यौली आरन पेसालाई विस्तारै छाड्दै कृषिमा लागेका उनले गत वर्ष चारवटा टनेलबाट डेढ लाख रुपैयाँ आम्दानी लिएका थिए । तर, गत असोज १० गते वर्षासँगै आएको हावाहुरीले उनका तीनवटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ भने एउटामा आंशिक क्षति पुगेको छ ।

राम्रो उत्पादन दिने बेलामै गोलभेँडाका झाङ ढलेपछि अहिले उनलाई मण्डीको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ ।

यो बेमौसमी हावाहुरीबाट उनी मात्रै पीडित छैनन्, सिङ्गो गाउँ नै प्रभावित बनेको छ । अच्युत घलानको करिब ३०० मिटरभन्दा लामो टनेल र सुजन पुडासैनीले भाडाको करिब २५ रोपनी जग्गामा गरेको गोलभेँडा खेतीमा अधिकांश क्षति पुगेको छ ।

स्थानीय कर्मराज विश्वकर्माका अनुसार विशेषगरी वडा नम्बर ८ को बर्गिटार र दम्पकी क्षेत्रका अधिकांश टनेलमा क्षति पुगेको छ । हावाले टनेलसँगै बोट नै लडाएपछि किसानहरू आफ्नो ज्यालासम्म उठाउन नसक्ने स्थितिमा पुगेका छन् ।

त्यसमाथि टनेल मर्मत र रोग लाग्न नदिन थप औषधि उपचार गर्नुपर्दा उनीहरूलाई दोहोरो आर्थिक भार थपिएको छ ।

वडा कार्यालयले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म ३५ घरधुरीको ७ हजार मिटर टनेलमा रहेको गोलभेँडा खेतीमा क्षति पुगेको छ ।

राम्रो उत्पादन हुने सिजनमा दैनिक ४ सयदेखि ६ सय क्रेट गोलभेँडा निर्यात गर्दै आएको बुढीचौरमा यस वर्ष ७० टनभन्दा बढी उत्पादन घट्ने अनुमान गरिएको छ । वडा कार्यालयमा क्षतिको विवरण लिएर आउने पीडित किसानहरूको संख्या बढ्दै गएकाले नोक्सानीको यो आँकडा अझै बढ्न सक्ने देखिएको छ । 

Share News