७.२७ अर्बमा ५ वटा सोलार आयोजना बनाउँदै सोल पावर, न्यू नेपालगञ्जको काम अघि बढ्यो

काठमाडौं । बाँके जिल्लामा ३० मेगावाट क्षमताको ‘न्यू नेपालगञ्ज सौर्य विद्युत आयोजना’ निर्माणको प्रक्रिया अघि बढेको छ । प्रस्तावित आयोजना लुम्बिनी प्रदेशको बाँके जिल्लाको बैजनाथ गाउँपालिका-७ र खजुरा गाउँपालिका-४ मा निर्माण हुनेछ ।

आयोजनाका मुख्य संरचना करिब ३०.४७ हेक्टर क्षेत्रफलमा निर्माण गरिनेछन् ।

सोल पावरले प्रस्ताव गरेको आयोजनाको जडित क्षमता ३० मेगावाट रहनेछ भने वार्षिक औसत ५९.९२२ गिगावाट-घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।

आयोजनामा सौर्य फोटोभोल्टाइक (पीभी) प्यानलबाट उत्पादन हुने डीसी विद्युतलाई २७५ किलोवाट क्षमताका १०८ वटा तथा ७५ किलोवाट क्षमताका तीन वटा स्ट्रिङ इन्भर्टरमार्फत एसी विद्युतमा रूपान्तरण गरिनेछ । त्यसपछि उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको न्यू नेपालगञ्ज ग्रिड सबस्टेसनमा जोडिने विभागले जनाएको छ ।

प्रवद्र्धकले आयोजना २०८३ माघभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालनका क्रममा स्वीकृत प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) प्रतिवेदनअनुसार वातावरणीय प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गरिने र भू-क्षय, वायु प्रदूषणलगायत वातावरणीय असर न्यून रहने गरी काम गरिने विभागले जनाएको छ ।

आयोजना निर्माण तथा सञ्चालनबाट उल्लेखनीय प्रतिकूल असर पर्ने ठानेमा ३५ दिनभित्र विद्युत विकास विभाग वा प्रवर्द्धक कम्पनीसमक्ष लिखित राय वा प्रतिक्रिया पेश गर्न आग्रह गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गत असार ४ गते आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) प्रतिवेदन स्वीकृत गरेको हो । 

सोल पावरको प्रवर्द्धन गोल्यान समूहसँग आबद्ध व्यक्तिगत तथा संस्थागत प्रवर्द्धक प्योर इनर्जी लिमिटेड र गोल्यान पावर लिमिटेडले संयुक्त रूपमा गरेका छन् । 

कम्पनीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पाँच चरणमा कुल १०० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना विकास गर्ने योजना अघि बढाएको छ ।

परियोजनाअन्तर्गत भुरीगाउँ-१ सौर्य आयोजना (२५ मेगावाट), कृष्णपुर सौर्य आयोजना (१५ मेगावाट), न्यू नेपालगञ्ज सौर्य आयोजना (३० मेगावाट), परासी सौर्य आयोजना (१५ मेगावाट) र सुनवल सौर्य आयोजना (१५ मेगावाट) निर्माण गरिनेछ ।

नेपालमा नवीकरणीय ऊर्जाको उत्पादन विस्तार गर्ने उद्देश्यका साथ अघि बढाइएको यस परियोजनाले देशको ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको योगदान बढाउने अपेक्षा गरिएको छ । परियोजना सम्पन्न भएपछि १०० मेगावाट स्वच्छ विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने विश्वास गरिएको छ ।

कम्पनीका अनुसार आयोजनाको कुल अनुमानित लागत ७ अर्ब २७ करोड ६४ लाख ७० हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत करिब ७ करोड २८ लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजना ७५ः२५ को ऋण-स्वपुँजी अनुपातमा वित्तीय व्यवस्थापन गरिनेछ । यसअन्तर्गत ५ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको ऋण सुनिश्चित भइसकेको कम्पनीले जनाएको छ ।

Share News