काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौंको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।
सो डान्स क्लबले भारतीय नागरिकलाई कुटपिट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको छ । उनीहरूले प्रहरी कर्मचारीको काममा बाधा गरेको तथा हातपात गरेका थिए । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा पाथीभारा माता
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
थापाले धर्मका नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापालाई फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए । त्यस लगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो । उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।