काठमाडौं । नेपालको आधुनिक ऊर्जा विकासको इतिहास फर्पिङ जल विद्युत परियोजनाले ११६ वर्ष पार गरेको छ । १९६८ जेठ ९ गते उद्घाटन भएको यो आयोजना एसियाकै दोस्रो जलविद्युत परियोजनाका रूपमा परिचित छ ।
तर नेपालमा विद्युत उत्पादनको इतिहासको साक्षी रहेको यो धरोहर अहिले संरक्षणको अभाव, सरकारी बेवास्ता र स्पष्ट दीर्घकालीन योजनाको कमीका कारण जीर्ण बन्दै गएको छ ।
पाँच सय किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत आयोजना तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पहलमा गेहेन्द्र शमशेरको नेतृत्वमा निर्माण गरिएको थियो ।

यसको उद्घाटन तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहले विसं १९६८ जेठ ९ गते गरेका थिए । त्यसबेला यस केन्द्रबाट उत्पादित विद्युतलाई श्री चन्द्रज्योति प्रकाश नाम दिइएको थियो ।
काठमाडौं उपत्यकाबाट करिब १२ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस परियोजनाको निर्माणमा त्यतिबेला सात लाख १३ हजार रुपैयाँ खर्च भएको थियो । आयोजनाका लागि आवश्यक सम्पूर्ण आर्थिक सहयोग तत्कालीन बेलायत सरकारले उपलब्ध गराएको थियो ।
उत्पादन भएको विद्युत ११ केभी वितरण प्रणालीमार्फत काठमाडौं उपत्यकामा आपूर्ति गरिन्थ्यो । विद्युत वितरणलाई व्यवस्थित बनाउन त्यसबेला बिजुली अड्डासमेत स्थापना गरिएको थियो ।

फर्पिङ जलविद्युत गृह नेपालको ऊर्जा इतिहासको एउटा महत्त्वपूर्ण परिचय हो । भारतको दार्जिलिङपछि एसियामा विद्युत उत्पादन गर्ने दोस्रो आयोजना मानिने यस परियोजनाले नेपाललाई आधुनिक ऊर्जा युगमा प्रवेश गराएको थियो ।
विसं १९६४ मा बेलायत भ्रमणबाट फर्किएपछि चन्द्रशमशेरले नेपालमा जलविद्युत उत्पादन गर्ने योजना अघि सारेका थिए । बेलायती र नेपाली इन्जिनियरहरूको संयुक्त प्रयासमा करिब २० महिनाको निर्माणपछि आयोजना सञ्चालनमा आएको थियो ।
कुटली खोला, सातमुले र शेषनारायण क्षेत्रको पानीलाई एकीकृत गरी निर्माण गरिएको यस आयोजनाबाट राजधानीका दरबार, सरकारी कार्यालय तथा उद्योगमा विद्युत आपूर्ति गरिएको थियो । त्यसबेला विद्युत उत्पादनका हिसाबले नेपाल चीन र जापानभन्दा समेत अगाडि रहेको ऐतिहासिक तथ्य यस आयोजनासँग जोडिएको छ ।
फर्पिङ जलविद्युत गृहले करिब ६० वर्षसम्म काठमाडौं उपत्यकालाई विद्युत आपूर्ति गरेको थियो । तर २०३८ सालमा फर्पिङ क्षेत्रको पानी राजधानीको खानेपानी आपूर्तिका लागि प्रयोग गर्न थालिएपछि विद्युत उत्पादन बन्द गरियो ।

त्यसयता आयोजना निष्क्रिय बन्दै गएको छ ।
ऊर्जा उत्पादन बन्द भएसँगै ऐतिहासिक संरचनाको संरक्षणमा पनि सरकारी ध्यान पुग्न सकेन । फलस्वरूप नेपालकै औद्योगिक इतिहाससँग जोडिएका मेसिन, संरचना र पूर्वाधार क्रमशः जीर्ण बन्दै गएको स्थानीय राजु श्रेष्ठले जानकारी दिए ।
एक सय १६ वर्ष पुरा गरेको फर्पिङ जल विध्युत क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पार्क निर्माण गर्ने तथा जलविद्युत सङ्ग्रहालय स्थापना गर्ने घोषणा गरिएपनि यस क्षेत्रमा राज्यको ध्यान नगएको श्रेष्ठले बताए ।
बारम्बार सरकार र मन्त्री परिवर्तन हुने राजनीतिक अस्थिरताका कारण यस्ता दीर्घकालीन सम्पदा संरक्षणका कार्यक्रमले निरन्तरता नपाएको उनको भनाइ छ ।
स्थानीय तारा बलामी फर्पिङ जलविद्युत आयोजना नेपालको आधुनिक विकासको जीवित इतिहास भए पनि राज्यको प्राथमिकतामा पर्न सकेको बताइन् ।
उनले भनिन्, ‘फर्पिङ जलविद्युत गृह केवल एउटा पुरानो संरचना होइन, यो नेपालको आधुनिक विकास यात्राको सुरुआतको प्रतीक हो । यसको संरक्षणका लागि दीर्घकालीन योजना, पर्याप्त बजेट र निरन्तर सरकारी प्रतिबद्धता आवश्यक छ । तर अहिलेसम्म त्यसअनुसारको काम हुन सकेको छैन ।’
उनका अनुसार ऐतिहासिक सम्पदाको संरक्षणलाई सरकारले प्राथमिकतामा नराख्दा यस्तो महत्त्वपूर्ण धरोहर क्रमशः उपेक्षामा पर्दै गएको छ ।
ऊर्जा क्षेत्रका जानकार तथा सम्पदा संरक्षणकर्मीहरूले फर्पिङ जलविद्युत आयोजनालाई राष्ट्रिय ऊर्जा सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताउँछन् । यसलाई जलविद्युत सङ्ग्रहालय, अनुसन्धान केन्द्र तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु नगरपालिकाले सरकारलाई अनुरोध गरेको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत बताउँछन् ।