स्वदेशी उत्पादनबाट आयात प्रतिस्थापनको नेतृत्व उद्योग क्षेत्रले लिनुपर्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्ले ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन् ।

मंगलवार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनःस्थापित गर्नुपर्ने बताएका हुन् । 

उनले निजी क्षेत्रले गरेको लगानी सुरक्षित, प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। 

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो कुरामा भन्नेमा सरकार स्पष्ट रहेको भन्दै उद्यमीको नाफा र सम्पतीको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए । 

उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरु तिब्र गतिमा कार्यान्वयन भइरहेको समेत बताए । 

उनले पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएको लगानीको अवरोध हटाउने प्रतिवद्धता दोहोर्याउँदै लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरूलाई आग्रह पनि गरे ।

Share News