काठमाडौंमा मिटर ब्याजी पीडितको उजुरी प्रहरीले निरन्तरता दिने

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले मिटर ब्याजीबाट पीडित तथा अनुचित लेनदेनको उजुरीलाई निरन्तरता दिने भएको छ । 

शुक्रबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता पवन कुमार भट्टराईले मिटर ब्याजी पीडितको उजुरीलाई यस वर्ष पनि निरन्तरता दिने जानकारी दिएका हुन् । 

आर्थिक वर्ष २०८२/ ०८३ मा परिसरमा २ सय ८७ वटा उजुरी परेको थियो । मिटर ब्याजी तथा अनुचित लेनदेनमा ४८ वटा मुद्दा दायर भएको र मेलमिलापका लागि  ५० वटा निवेदन परेको थियो ।

मेलमिलाप उजुरी फर्स्यौट हुन बाँकी १ सय ८९ वटा उजुरी बाँकी रहेको प्रवक्ता भट्टराईले जानकारी दिए । अनुचित लेनदेनमा ७ जना महिला र ६ जना पुरुष पक्राउ परेका छन् । अनुचित लेनदेनमा २ जना फरार रहेका छन् ।

मिटर ब्याजीमा १ अर्ब ६५ करोड ६४ लाख ४ हजार ९१२ रुपैयाँको मागदाबी निवेदन परेको थियो । ८ करोड ९१ लाख १ हजार ५ सय रुपैयाँको मिलापत्र भएको थियो ।

काठमाडौंमा अनुचित लेनदेन तथा मिटर ब्याजीमा कोही पीडित भएमा उजुरी दिन सक्ने उनले बताए । काठमाडौंमा धेरै मानिसहरू पीडित भएको सुन्नमा आएकाले मिटर ब्याजीबाट पीडितहरूले प्रहरीकोमा पुगेर उजुरी दिन सक्ने उनको भनाइ छ ।

सरकारले २०७९ चैत २० मा जाँचबुझ आयोग ऐन, २०२६ अनुसार अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी आयोग गठन गरेको थियो । गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोगले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा पीडित सहायता कक्ष खडा गरेर मिटर ब्याज पीडितलाई आवेदन आह्वान गर्यो । 
मधेस प्रदेशका ८ जिल्लामा मात्रै १८ हजार ३५६ वटा निवेदन परेका थिए ।

सबैभन्दा बढी बारा जिल्लामा ३ हजार ३२२ वटा निवेदन परेको थियो । त्यसपछि लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा १ हजार ८८९ निवेदन परेको आयोगले जनाएको थियो।

त्यसैगरी, परिसरले काठमाडौंका विभिन्न क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्ने समूहको सूची बनाएको छ । 
प्रहरीले गुन्डागर्दी गर्ने समूहको समेत सूची तयार पारिएको भट्टराईले जानकारी दिए । प्रहरीले एक हजार ८७१ जनाको सूची तयार पारेको जनाएको छ ।

Share News