पहिरोले देशभर एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै ९ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही-थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका-७ पिना खोलास्थित नाग्म-गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडक खण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका-४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ म्याग्दे भीरस्थित बेँसीसहर-चामे-मनाङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।

यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडक खण्डमा तामाकोशी नदीको कटानका कारण सडक अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

Share News