शिक्षामन्त्रीले भनेका थिए- डा. केसी जोसँग लड्छन्, म साथमा हुन्छु

काठमाडौं । डा. गोविन्द केसीले बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा २४औँ सत्याग्रह सुरु गरेका छन् । अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना माग पूरा गर्न सरकारलाई साउन ५ गतेसम्मको समयसीमा दिएको भए पनि माग सम्बोधनतर्फ कुनै पहल नभएपछि सत्याग्रहमा बस्नुपरेको बताएका छन् ।

डा. केसी पुनः अनशनमा बसेसँगै आठ वर्षअघि उनको आन्दोलनमा खुलेर समर्थन जनाएका वर्तमान शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पुरानो फेसबुक पोस्ट फेरि चर्चामा आएको छ ।

पोखरेलले ३ जुलाई २०१८ मा फेसबुकमा लेखेका थिए, ‘नेताहरूले बारम्बार झुटो आश्वासन दिँदै भोट माग्छन् । जनताले फेरि पनि तिनैलाई भोट हाल्छन् । तर जब डा. गोविन्द केसी जनताको मौलिक अधिकारका लागि माफियाविरुद्ध सत्याग्रहमा बस्छन्, त्यही जनताले ‘अब त अत्ति भयो, कति बस्या अनशन? पागल बुढा, अनशन बसेर केही हुँदैन, लोकप्रिय बन्न गरेको’ भन्ने गर्छन् ।’ 

त्यतिबेला डा. केसीको आन्दोलनमा खुलेर समर्थन जनाएका पोखरेलको आठ वर्षअघिको अभिव्यक्ति र वर्तमान सरकारी भूमिकालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् । अहिले शिक्षा, विज्ञान तथा खेलकुदमन्त्रीका रूपमा सरकारमा छन् । उता, डा. केसी भने आफ्ना माग पूरा गराउन पुनः सत्याग्रहमा बसेका छन् । 

उनले भनेका थिए, ‘माफियाविरुद्धको लडाइँ सहज हुँदैन । सरकारलाई च्यापेर बसेका हुन्छन् । त्यसैले म छाती फुलाएर भन्छु, डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म जहिल्यै उनको साथमा हुन्छु । जनताको साथले नै जित्ने हो यो लडाइँ । चाहे जे सुकै होस्, अन्त्यमा सत्यकै जित हुन्छ ।’

Share News