संघ–प्रदेश समन्वयमा ऊर्जा क्षेत्रका चुनौती र प्राथमिकतामाथि छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौं । संघ र सातै प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी जिम्मेवारी सम्हालेका मन्त्रीहरूको विषयगत समितिको बैठक सिंहदरबारमा जारी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भइरहेको बैठकको अध्यक्षता संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गरेका छन् । 

बैठकमा सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी मन्त्रालयका मन्त्रीहरूको सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।

संघीय संरचनाअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका नीति, योजना र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघ र प्रदेशबीच आवश्यक समन्वय, सहकार्य तथा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

बैठकमा प्रदेशस्तरमा सञ्चालन भइरहेका ऊर्जा तथा सिँचाइ आयोजनाको प्रगति, कार्यान्वयनमा देखिएका समस्या, बजेट व्यवस्थापन, अन्तरसरकारी समन्वय, विद्युत् पूर्वाधार विस्तार, नवीकरणीय ऊर्जा प्रवर्द्धन तथा आगामी योजनाका प्राथमिकताबारे छलफल भइरहेको छ ।

त्यसैगरी, प्रदेश सरकारहरूले भोगिरहेका कानुनी, प्रशासनिक तथा वित्तीय चुनौतीका विषयमा पनि छलफल हुने बताइएको छ । 

संघ र प्रदेशबीच अधिकार क्षेत्रको स्पष्टता, आयोजना कार्यान्वयनमा सहजीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषय बैठकको मुख्य एजेन्डामा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

Share News