काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित ४२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म जेष्ठ नागरिक, एकल महिला/विधवा तथा दोहोरो शीर्षकका सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा कानुनअनुसार योग्य नभएका व्यक्तिलाई लाभग्राही बनाएर सरकारी रकम दुरुपयोग गरिएको थियो ।
उमेर नपुगेका व्यक्तिलाई जेष्ठ नागरिक भत्ता, श्रीमान् जीवित रहेका महिलालाई विधवा भत्ता तथा झुट्टा विवरणका आधारमा सामाजिक सुरक्षा परिचयपत्र जारी गरी भत्ता वितरण गरिएको अनुसन्धानबाट खुलेको हो ।
अख्तियारले बैंकिङ प्रणाली लागू हुनुअघि एउटै व्यक्तिबाट विभिन्न लाभग्राहीको नाममा औंठाछाप लगाएर भत्ता वितरण गरिएको र बैंकिङ प्रणाली लागू भएपछि पनि आवश्यक कागजातबिनै झुट्टा विवरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी भुक्तानी गराइएको जनाएको छ ।
अनुसन्धानबाट ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको पुष्टि भएपछि आयोगले वडा अध्यक्ष धर्मेन्द्रकुमार झा र वडासचिव उमेश चौधरी विरुद्ध सोही बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरेको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुर विरुद्ध २९ लाख ४४ हजार १ रुपैयाँ बिगो दाबी गरिएको छ ।
यसैगरी, गैरकानुनी रूपमा सामाजिक सुरक्षा भत्ता लिएका वा लिन सहयोग गरेको आरोपमा अन्य लाभग्राही तथा केही मृतक प्रतिवादीका हकवालासमेत गरी कुल ४२ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना र बिगो असुलउपरको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।