'श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन' - प्रधानमन्त्री निरंकुश शैलीमा अघि बढेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लोकतान्त्रिक मूल्य मान्यता विपरीत निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीमाथि कसैले प्रश्न उठाउन नपाउने अवस्था सिर्जना गरिएको दाबी गरे ।

‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन,’ उनले भने, ‘एक समय "बोल्न दे सरकार, गरिबको चमेली बोलिदिने कोही छैन' भन्ने वालेन्द्र शाह र आजका प्रधानमन्त्री वालेन्द्र शाह एउटै व्यक्ति हुन् कि होइनन् भन्ने प्रश्न उठेको छ ।’

राईले मुलुकको राज्य संयन्त्र अनधिकृत नेटवर्कबाट सञ्चालन हुन थालेको आरोपसमेत लगाए । सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरूको प्रभाव बढ्दासमेत सत्तापक्षका सांसदहरू मौन बसेको उनको टिप्पणी थियो ।

उनले सोमबार देखिएको घटनाक्रमलाई सरकारको अलोकतान्त्रिक चरित्रको उदाहरणका रूपमा प्रस्तुत गर्दै कांग्रेस सभापति गगन थापा र एक सञ्चारगृह अगाडि सवारीसाधन तेर्स्याउने घटनाको आलोचना गरे ।

‘कांग्रेस सभापति गगन थापा र मिडिया हाउसअगाडि गाडी तेर्स्याउने काम लोकतान्त्रिक अभ्यास होइन । यो राज्य आतंकको संकेत हो,’ राईले भने ।

उनले सरकारलाई लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनको सम्मान गर्न आग्रह गर्दै विपक्षीमाथि दबाब सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।

Share News