काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ नामले भाइरल भएका रेस्लर एवं पूर्वसैनिक कुमार थापा मगरविरुद्द जन्मकैदको सजाय माग गरिएको छ । आफ्नै श्रीमती, नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको चक्कु प्रहार गरी विभत्स हत्या गरेको आरोपमा उनीविरुद् जन्म कैदको सजाय माग गरिएको हो ।
प्रतिवादी अम्बिका भुजेल र नेपाल सरकार वादी भएर दर्ता गरेको अभियोगपत्रमा उनीसहित चार प्रतिवादनी बनाइएका छन् । सरकारी वकिलको कार्यालयले नेपाली ब्रोको प्रेमिका प्रतीक्षा आचार्यलाई कुमारसँग मिलेर ईश्वरीको हत्या गरी विवाह गर्ने योजना बुनेको आरोपमा मुदद चलाइएको छ भने उनकै भाई विक्रम थापा मगरलाई दाजुलाई हत्याका लागि उक्साएको र आर्थिक प्रलोभन देखाएको आरोपमा मुदद चलाइएको छ ।
यस्तै, कुमारका साथी एवं धनेश्वर अटोमोबाइल्सका सञ्चालक पूजन थापामाथि पनि कुमारलाई लुक्न र बस्न सहयोग गरेको आरोपमा मुदद चलाइएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ६ पैँयुटारमा गत जेठ २२ गते राती साढे ९ बजे थापाले बाटो ढुकेर श्रीमतीको घाँटी रेटी हत्या गरेको तथ्य प्रहरी अनुसन्धान र अदालतमा दायर अभियोग पत्रबाट खुलेको छ । मृतक ईश्वरी भुजेल नेपाली सेनाको सैनिक ब्यान्ड नारायणहिटिका सुवेदार पदमा कार्यरत थिइन् ।
घटना पश्चात् सोही राती ११ बजे प्रहरीले अभियुक्त कुमार थापा मगरलाई बालाजु बाइपासबाट रगत लतपतिएको लुगासहित पक्राउ गरेको थियो । अभियोग पत्रका अनुसार कुमार र ईश्वरीबीच करिब २० वर्षअघि नेपाली सेनामा कार्यरत रहँदा प्रेम विवाह भएको थियो । उनीहरूका १८ र ४ वर्षका दुई छोराहरू छन् ।
सेनाको जागिर छाडेर वैदेशिक रोजगारीमा समेत गएका कुमार नेपाल फर्किएपछि रेस्लिङ खेल र टिकटकमा सक्रिय भएका थिए । टिकटकमा भाइरल भएपछि उनको चिनजान जुम्ला घर भई काठमाडौं बस्ने २५ वर्षीया नर्स प्रतीक्षा आचार्यसँग भयो । प्रतीक्षालाई आफ्नो रेस्लिङ खेलको इभेन्ट म्यानेजर नियुक्त गरेपछि उनीहरूबीच प्रेम र शारीरिक सम्बन्ध सुरु भएको कुमारले आफ्नो बयानमा स्वीकार गरेका छन् ।
टिकटकमा प्रतीक्षालाई ‘माई डक्टर गर्लफ्रेन्ड’ भन्दै भिडियो पोस्ट गरेपछि ईश्वरीले उनीहरूको सम्बन्धबारे थाहा पाएकी थिइन् । त्यसपछि परिवारमा तीव्र कलह सुरु भयो र पटक–पटक प्रहरी वृत्त बालाजु र जिल्ला प्रहरी परिसर काठमाडौंमा मिलापत्र समेत गरिएको थियो ।
अदालतमा विचाराधीन मुद्दा र हत्याको योजना घरेलु हिंसा र प्रताडना सहन नसकी ईश्वरीले श्रीमान् कुमार विरुद्ध प्रहरीमा वैवाहिक जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गराएकी थिइन्, जसमा कुमार ५० हजार धरौटीमा छुटेका थिए ।
यसका साथै ईश्वरीले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा समेत दायर गरेकी थिइन् । कुमारले ईश्वरीलाई ती मुद्दाहरूमा ‘होस्टाइल’ हुन (बयान फेर्न) र मुद्दा फिर्ता लिन निरन्तर दबाब र ज्यान मार्ने धम्की दिँदै आएका थिए । हत्या भएको दिन (जेठ २२ गते) अदालतमा सोही मुद्दाको पेसी तोकिएको थियो ।
अभियोगपत्रमा उल्लेख भएअनुसार कुमार बिहानै ईश्वरीलाई भेट्न नारायणहिटीस्थित सैनिक ब्यान्डको गेटमा पुगेका थिए । तर, ईश्वरीले भेट्न मानिनन् । त्यसपछि दिनभर बबरमहल अदालत र साथी पूजन थापा क्षेत्रीको बालाजुस्थित रिकन्डिसन हाउसमा समय बिताएका कुमार बेलुका तनाव र आक्रोशका साथ पैँयुटारस्थित घर पुगेका थिए ।
घरमा छोरा र काम गर्ने केटीसँग विवाद भएपछि कुमार झनै आक्रोशित बनेर आफ्नो कार (बा एची ०३४४) लिई निस्किएको बयान दिएका छन् । सोही क्रममा विपरीत दिशाबाट ईश्वरी ड्युटी सकेर स्कुटरमा घर फर्किँदै गरेकी देखेपछि उनले कार रोकेर आफूसँग सधैँ राख्ने चक्कु लिई ईश्वरीको पिछा गरेको र सिसिटिभीमा कैद विभत्स क्षणपैँयुटारस्थित राजु भट्टराईको निर्माणाधीन घर अगाडिको गल्लीमा ईश्वरी पुगेपछि कुमारले उनलाई पछाडिबाट समातेर नियन्त्रणमा लिई घाँटी रेटी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ ।
वारदात स्थल नजिकैको सिसिटिभी फुटेजमा कुमारले कारबाट झरेर ईश्वरीलाई लखेटेको, चक्कु प्रहार गरेको र वारदात पछि चक्कु झाडीमा फालेर कार चढी भागेको स्पष्ट देखिएको अभियोग पत्रमामा उल्लेख छ । पोस्टमार्टम रिपोर्टका अनुसार ईश्वरीको मृत्यु घाँटी र छातीमा लागेको गहिरो चोटका कारण भएको बताइएको छ ।
उनको हातमा ’डिफेन्स कट’ अर्थात् बच्न खोज्दा लागेका चोटहरू समेत फेला परेका थिए । थप तीन जना मतियारका रूपमा प्रतिवादी ईश्वरीकी दिदी अम्बिका भुजेलको किटानी जाहेरीका आधारमा प्रहरीले मुख्य अभियुक्त कुमार थापा मगरसहित हत्याको योजना र मतियारको भूमिका खेलेको आरोपमा अन्य तीन जनालाई पनि प्रतिवादी बनाएको छ ।
प्रहरीले घटनामा प्रयोग भएको ९ इन्च लामो धारिलो चक्कु, रगत लागेको टिसर्ट, किया कम्पनीको कार र आइफोनहरू बरामद गरिसकेको छ । कानुन बमोजिम सजायको मागदाबी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी कुमार थापा मगरसहित अन्य मतियारहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूर अन्तर्गत जन्मकैद र कडा सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।