काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक भएपछि घटनालाई लिएर विभिन्न अड्कलबाजी र टिप्पणीहरू भइरहेका छन् ।
ट्वीटर प्रयोगकर्ता निर्मल पर्साईले भिडियो पोस्ट गर्दै लेखेका छन्, 'अगाडि क्लियर बाइक देखिन्छ, देख्दादेख्दै बाइकमाथि बस चढाउँछ। यो दुर्घटना होइन, जानाजान हत्या प्रयास हो ।'
यस्तै, अर्का एक ट्वीटर प्रयोगकर्ताले पनि यातायात समितिको संरक्षणका कारण यस्ता घटना हुने गरेको आरोप लगाउँदै लेखेका छन्, 'ज्यान मार्ने अभिप्राय नै देखिन्छ । यसलाई हत्या प्रयासको मुद्दामै दर्ता गर्नुपर्छ ।'
भाइरल भिडियोमा भक्तपुरको च्यामसिंह क्षेत्रमा गुडिरहेको बा ४ ख ५७५४ नम्बरको बस अगाडि मोटरसाइकल देखिन्छ । केही क्षणमै बस अगाडि बढ्दै जाँदा बा ०२-०१९ प ४५१९ नम्बरको मोटरसाइकल बसको अगाडि पर्छ र चालक ३८ वर्षीय रञ्जीत थापामगर मोटरसाइकलसहित लडेको देखिन्छ । भिडियोमा घटनास्थलमा रहेका मानिसहरू चिच्याइरहेको आवाज पनि सुनिन्छ।
त्यसपछि स्थानीयहरू बस वरिपरि जम्मा भएर बसमुनि हेरेको दृश्य भिडियोमा देखिन्छ । यही भिडियोको वास्तविकता बुझ्न विकासन्युजले जिल्ला प्रहरी परिसर भक्तपुरसँग सम्पर्क गरेको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार घटना आइतबार दिउँसो करिब ३:३० बजे भएको हो । उक्त बस ग्यारेजबाट निकालेर सडकमा ल्याइँदै थियो ।
उनका अनुसार बस सडकमा निस्किएर अगाडि बढ्ने क्रममा अचानक मोटरसाइकल बसको अगाडि आइपुगेको थियो । प्रारम्भिक अनुसन्धानमा बसको हाइड्रोलिक ब्रेकमा समस्या देखिएको र सोही कारण दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता जबेगुले बस चालक ४८ वर्षीय शम्भु गिरी र मोटरसाइकल चालकबीच आपसी समझदारी भएको जानकारी दिए । बस चालकको तर्फबाट मोटरसाइकलमा भएको क्षतिको मर्मत गरिदिने सहमति भएको छ ।
प्रहरीका अनुसार घटनामा मानवीय क्षति भएको छैन । यद्यपि बसमा प्राविधिक समस्या कसरी आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।