काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) सम्म बीमा कम्पनीहरुले करिब ९३ अर्ब रुपैयाँको दाबी भुक्तानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार सञ्चालनमा रहेका बीमा कम्पनीहरुले ११ महिनामा कुल ९२ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।
अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीहरुले भुक्तानी गर्ने दाबी रकम २७.३७ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरुले ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।
चालु आवको जेठ मसान्तसमममा जीवन बीमा कम्पनीहरुबाट २ लाख ६५ हजार २०४ वटा दाबीको ६६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । अघिल्लो आवको यही अवधिसम्म जीवन बीमकहरुले २ लाख ३८ हजार ६०८ वटा दाबीको ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
अघिल्लो अवाको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या ११.१५ प्रतिशत र रकम २६.१७ प्रतिशतले घटेको छ । त्यस्तै चालु आवको जेठ मसान्तसम्ममा निर्जीवन बीमकहरुले १ लाख ४० हजार ३५१ वटा दाबीको २६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
अघिल्लो आवको यही अवधिमा निर्जीवन बीमकहरुले १ लाख २७ हजार २८२ वटा दाबीको २० अर्ब ३० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः १०.२७ प्रतिशत र ३०.८४ प्रतिशतले बढेको छ ।
चालु आवको जेठ मसान्तसम्ममा जीवन र निर्जीवन बीमकहरुले अझै ४९ अर्ब ४४ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । ११ महिनाको अवधिमा जीवन बीमकहरुले मात्रै ६० हजार ९५४ वटा दाबीको ५ अर्ब ५४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
जुन गत आवको यही अवधिको तुलनामा दाबी संख्या र रकम क्रमशः १२ प्रतिशत र २१ .१२ प्रतिशतले बढेको छ ।
गत आवको यही अवधिमा जीवन बीमकहरुले ५४ हजार ४२२ संख्याको ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ बाँकी थयो ।
चालु आवको जेठसम्ममा निर्जीवन बीमकहरुले १ लाख १७ हजार १८२ वटा दाबीको ४३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
जुन गत आवको तुलनामा संख्या र रकम क्रमशः ९.७७ र ४४.१० प्रतिशतले बढी हो । गत आवको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १ लाख ६ हजार ७५७ दाबी संख्याको ३० अर्ब ४६ करोड १६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो ।