काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हरेक राजनीतिक दलको आफ्नै संघर्षको इतिहास हुने भन्दै रास्वपा पनि फरक पृष्ठभूमिबाट संघर्ष गर्दै यहाँसम्म आइपुगेको बताएका छन् ।
चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको राजनीतिक यात्रा परम्परागत दलभन्दा फरक रहेको उल्लेख गरे ।
‘हरेक राजनीतिक दलका आ-आफ्नै संघर्षका कथा हुन्छन् । पछिल्लो समयको हाम्रो राजनीतिक संघर्ष अलिक फरक ढंगले अघि बढिरहेको छ । हामी फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हौं,’ उनले भने ।
लामिछानेले नेपालको वर्तमान राजनीतिक उपलब्धि अघिल्ला पुस्ताका नेताहरूको संघर्षकै परिणाम भएको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान गर्नुपर्ने बताए ।
‘देशमा भएका अनेक राजनीतिक द्वन्द्व र उतारचढाव पार गर्दै आजको अवस्था आएको हो । अग्रज राजनीतिज्ञहरू व्यवस्था परिवर्तनको अग्निकुण्डमा नहोमिएको भए हामी आजका उपलब्धिसम्म पुग्न सक्ने थिएनौं,’ उनले भने ।
रास्वपाले अब नयाँ जिम्मेवारीसहित परिपक्व र उत्तरदायी राजनीतिक शक्तिका रूपमा अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
‘प्रथम ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रूपमा वैधानिकता प्राप्त गरेको रास्वपा अब परिपक्व भएर अघि बढ्नेछ । हामी प्रतिबद्धताका साथ जनताको अपेक्षा पूरा गर्न अगाडि बढ्छौं,’ उनले भने ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपाले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक यात्रालाई नयाँ ढंगले अघि बढाउने संकेत दिएको छ ।