काठमाडौं । वैश्विक कच्चा तेलको मूल्य चार महिनायताकै सबैभन्दा तल्लो विन्दुमा पुगेको छ । बिहीबार (आज) वैश्विक मानक ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ७२.६३ डलर पुगेको छ ।
यसभन्दा अगाडि केही छिनका लागि तेलको मूल्य प्रति ब्यारेल ७२.४८ डलर पुगेको थियो । यो त्यही मूल्यस्तर हो जुन २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुभन्दा एक दिनअघि थियो ।
यद्यपि पछि मूल्यमा सामान्य वृद्धि भई प्रति ब्यारेल ७२.६३ डलर पुगेको हो ।
गत जुन १७ मा अमेरिका र इरानबीच एउटा समझदारी पत्रमा हस्ताक्षर भएपछि विश्वले यो ठूलो राहत पाएको हो ।युद्धको असरले मार्चको पहिलो साता ११२.५७ डलर प्रति ब्यारेलसम्म पुगेको थियो ।
हर्मुज स्ट्रेटमा जहाजहरूको आवतजावत पुनः सुरु भएकाले यो परिवर्तन आएको हो, जुन कच्चा तेल र ग्यासको वैश्विक परिवहनका लागि अत्यन्तै महत्त्वपूर्ण मार्ग हो ।
इरानको आक्रमणपछि यो मार्ग लगभग बन्द भएको थियो, जसका कारण ऊर्जाको मूल्यमा तीव्र उतारचढाव देखिएको थियो।
इरान र अमेरिकाबीच परमाणु कार्यक्रम र युद्ध अन्त्य गर्नेसँग सम्बन्धित मुद्दाहरूमा ६० दिनसम्म वार्ता हुने जनाइएको छ ।