काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य र पदाधिकारी चयनका लागि इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गरिने भएको छ । निर्वाचन आयोगले मतदान प्रक्रियालाई छिटो, व्यवस्थित र पारदर्शी बनाउन ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरिएको जनाएको छ ।
नुवाकोटका इन्जिनियर राम रीमाल र लक्ष्मण रीमालले विकास गरेका ती मेसिन यसअघि नेकपा एमालेले प्रयोग गरेको थियो । एमालेको ११औँ महाधिवेशनमा राम–लक्ष्मणका मतदान मेसिन प्रयोग भएका थिए ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार एक प्रतिनिधिले मतदान गर्न करिब १५ देखि २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा करिब ४ हजार प्रतिनिधि सहभागी रहेकाले मतदान प्रक्रियालाई सहज बनाउन पर्याप्त संख्यामा भोटिङ मेसिन प्रयोगमा ल्याउन लागिएको उनले बताए ।
आयोगले मतदान सकिएको करिब एक घण्टाभित्रै नतिजा सार्वजनिक गर्न सकिने दाबी गरेको छ । तर मतदानलाई भने समय लाग्न सक्छ । एक जनाले औसतमा २० मिनेटमा मतदान गर्ने हो भने करिब ४ हजार २ सयलाई मतदान गर्न करिब ८ हजार मिनेट लाग्दछ । मतदानका लागि ८० मेसिन निरन्तर चल्ने हो भने पनि १० घण्टा मतदानका लागि लाग्दछ । तर इलेक्ट्रोनिक भोटिङ प्रणालीका कारण मतगणनामा लाग्ने समय उल्लेख्य रूपमा घट्ने र परिणाम छिट्टै प्राप्त हुने आयोगको विश्वास छ ।
रास्वपाले आजै केन्द्रीय सदस्य र पदाधिकारीको निर्वाचन प्रक्रिया सम्पन्न गरी नतिजासमेत सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टीको पहिलो महाधिवेशन चितवनमा जारी छ । यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । अब केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि मात्रै पदाधिकारी चयनको प्रक्रिया अघि बढाइनेछ । रास्वपाको विधानअनुसार सभापति र केन्द्रीय सदस्यहरूको टुंगो लागेपछि महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ ।
पार्टीले केन्द्रीय सदस्य र पदाधिकारी दुवै तहको मतदान आजै सम्पन्न गरी नतिजासमेत सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।
असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशन मूल कार्यतालिकाअनुसार असार ९ गते नै सकिनुपर्ने थियो । तर प्रतिनिधि छनोट तथा प्राविधिक व्यवस्थापनमा देखिएका समस्याका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुँदै कार्यक्रम लम्बिएको हो ।
महाधिवेशनमा देशभरबाट करिब ४ हजार प्रतिनिधिको सहभागिता रहेको छ । रास्वपाको विधानअनुसार पार्टीमा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तीमध्ये ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना सदस्यलाई सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ ।