काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप ७ दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि म्याद थपको अनुरोध गरेपछि विशेष अदालतले जरुरी पक्राउ पुर्जी स्वीकृत गर्दै पहिलो पटक ७ दिनको म्याद थप गरेको हो ।
विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थप सम्बन्धी आदेश दिएको अदालत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
अदालतको आदेशअनुसार पौडेललाई अनुसन्धान प्रयोजनका लागि न्यायिक हिरासतमा राखिएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ ।
अनुसन्धान जारी रहेकाले विभागले आवश्यकताअनुसार थप प्रमाण संकलन तथा बयान लिने प्रक्रिया अघि बढाउने जनाएको छ । प्रहरीले सोमबार पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो । आज काठमाडौं ल्याएलगत्तै उनलाई अदालतमा पेश गरिएको थियो ।